लन्डन । प्रपर्टी बजारसम्बन्धी विज्ञले यूकेका घरधनीलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह गरेका छन् । नत्र जरिबाना तथा कानुनी कारबाही भोग्नु पर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
यूकेमा सन् २०२६ देखि यससम्बन्धी नयाँ नियम लागू हुँदै छ । ए स्टार फाइनान्सियल सर्भिसेजले बिहीबार आयोजना गरेको ‘युकेमा प्रपर्टी तथा घर भाडासम्बन्धी वेबिनार’मा नर्थउड एस्टेट एजेन्टसका निर्देशक कोलिन सिम्प्सनले घरधनीका लागि नियम पालना (कम्प्लायन्स) नै सबैभन्दा ठूलो चुनौती भएको बताए ।
‘नियम कानुन लगातार बदलिँदै छन्। त्यसबारे जानकार रहनु सबै घर धनीहरूको कर्तव्य हो,’ उनले भने । उनले नयाँ नियम अनुसार भाडामा बस्ने व्यक्तिको विस्तृत ‘ड्यु डिलिजेन्स’देखि लिएर सम्पत्तिको ‘एमओटी स्टाइल’ समीक्षा गर्नुपर्ने बताए । ‘घरधनीले कुनै चिन्ता लिनु नपरोस् भनेर हामीले सबै कम्प्लायन्स तथा प्रशासनिक काम सम्हाल्छौँ,’ उनले भने ।
नर्थउड एस्टेट एजेन्टसकी अपरेसन म्यानेजर पेसेन्सले आगामी १ मे २०२६ देखि लागू हुन गइरहेको ‘रेंटर्स राइट्स एक्ट’ले यूकेमा दशकौँपछि सबैभन्दा ठूलो परिवर्तन ल्याउने बताइन् । उक्त ऐन अनुसार दफा २१ (नो फल्ट एभिक्शन) पुरै हटाइएको छ भने घरधनीले आफ्नै घर फिर्ता लिन पनि अनिवार्य रुपमा वैध कारण देखाउनु पर्ने छ ।
भाडा बक्यौता भएमा तीन महिनाको नोटिस दिनुपर्ने छ । नयाँ ढाँचाको टेनेंसी सम्झौता गर्नुपर्ने छ। त्यस्तै २७ डिसेम्बर २०२५ देखि स्थानीय काउन्सिलहरूले बिना सूचना निरीक्षण गर्न पाउने छन् । उक्त कानुनको उल्लङ्घन गर्ने घर धनीहरूलाई ३० देखि ४० हजार पाउन्डसम्म जरिवाना वा कारावास पनि हुन सक्ने उनले बताइन् ।
जीएनएस एसोसियट्सका प्रबन्ध निर्देशक तथा कर विशेषज्ञ एलएन घिमिरेले ब्रिटिश सरकारले सुरु गरेको 'मेकिङ्ग ट्याक्स डिजिटल' बारे जानकारी दिए । उनले सेल्फ -इमप्लोयडहरुले पहिले वर्षमा एक पटक मात्र कर विवरण बुझाउनु पर्नेमा नयाँ नियम अनुसार अब वर्षको पांच पटक डिजिटली आफ्नो कर विवरण अपडेट गर्नु पर्ने बताए । उनले अब अधिकांश घर धनीहरू यो नयाँ नियममा समेटिने भएकाले समयमै जानकारी लिन आग्रह गरे ।
कार्यक्रमको सहजीकरण गरिरहेका ए स्टार मोर्गेजेजका मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर रमेश सारनकोटीले बैंक अफ इङ्ग्ल्यान्डले वर्षमा आठ पटक ब्याजदर समीक्षा गर्ने गरेको र यस वर्षको अन्तिम समीक्षा १८ डिसेम्बरमा हुने जानकारी दिए । ‘सम्पत्ति (प्रोपर्टी) क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू नियम–कानुनको पूर्ण पालना गर्न अझ सचेत र जानकार हुन आवश्यक छ। तर यस विषयमा अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन । जहाँ प्रतिफल हुन्छ, त्यहाँ मेहनत पनि आवश्यक हुन्छ । सरकारको रणनीति निजी तथा साना घरधनीलाई अझ जिम्मेवार बनाउनेतर्फ केन्द्रित देखिन्छ । यद्यपि निजी घरधनीले नयाँ नियमन तथा मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ, तर प्रोपर्टी लगानी अझै पनि सबैभन्दा बलिया लगानी क्षेत्रहरूमध्ये एक हो । २५% डिपोजिटमा लगानी गरेर १००% इक्विटी वृद्धि प्राप्त गर्न सकिने सम्भावना रहन्छ, तर यो सही स्थान, सही मूल्य, गहिरो अनुसन्धान तथा सही परामर्शमा निर्भर गर्छ,’ उनले भने ।
उनले प्रपर्टी मार्केटमा लगानी गर्न युकेवासी नेपाली समुदायका लागि राम्रो अवसरहरू रहेको तर विश्वसनीय र आधिकारिक कम्पनी वा एडभाइजरसँग मात्रै सम्पर्क गर्न सुझाव दिए । ‘तपाईंले घर किन्ने सोच्नु भएको छ भने ६ महिना वा एक वर्ष पहिलेनै आधिकारिक कम्पनी वा एडभाइजरसँग सल्लाह लिनु राम्रो हुन्छ। त्यस्तो सल्लाहको पैसा तिर्नु पर्दैन र तपाईंले आफ्नो परिस्थिति अनुसार योजना बनाउन सक्नु हुन्छ,’ सारनकोटीले भने ।
सो अवसरमा ए स्टार मोर्गेजेजकै मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर कुमार गुरुङले आफ्नो कम्पनीले दिइरहेको सेवाहरूको बारेमा र ए स्टार रियल एस्टेट्सका एडभाइजर नारायण तिमिल्सिनाले सो कम्पनीले ग्रेटर लन्डनमा घर बिक्री, भाडा, व्यवस्थापन, मूल्यांकन तथा सम्पूर्ण कम्प्लायंस सेवा प्रदान गरिरहेको बताए ।
ए स्टार मोर्गेजेजका फाइनान्सियल एडभइजर तथा प्रबन्ध निर्देशक मिन दर्लामीले सबै सहभागीहरूलाई स्वागत गरेका थिए । ए स्टार मोर्गेजेजले आगामी दिनमा पनि समसामयिक विषयमा वेबिनारहरू आयोजना गर्ने जनाएको छ ।