लन्डन । ताप्लेजुङ यूके युवा समाजको अध्यक्षमा आशा ओख्राबु चयन भएकी छन् । सोमबार सम्पन्न पहिलो अधिवेशनबाट ओख्राबु सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।
समितिको उपाध्यक्षमा आकाश थेबे, तेज आङ्बुहाङ, देव चोङ्बाङ र रन्जित पालुङ्वा, महासचिवमा दिनेश लिङ्खिम, सचिवमा जसवीर लङ्वा, कोषाध्यक्षमा डम्बर साँवा र सह कोषाध्यक्ष मा विजय लिम्बु सहित ५० सदस्यीय कार्यसमिति गठन भएको छ ।
आसफोर्ड केन्टस्थित डीएनजीमा एक कार्यक्रमबीच सम्पन्न अधिवेशनले सञ्चार विभाग प्रमुखमा लालहाङ थलङ, सांस्कृतिक विभाग प्रमुखमा तारा प्रकाश साँवा र सदस्यमा मोहन साँवालाई जिम्मेवारी प्रदान गरेको महासचिव लिङखिमले बताए। उनका अनुसार संरक्षक सदस्यहरूमा लालहाङ थलङ, धन थलङ, देउप्रकाश चङ्बाङ, रबिनसन मादेन र तारा इङ्वारम चयन भएका छन् ।
ताप्लेजुङ घर भई यूकेमा बसोबास गर्दै आएका युवाहरूको साझा संस्थाको रूपमा सन् २०२२ मा ताप्लेजुङ यूके युवा समाजको स्थापना भएको हो । स्थापनाकालदेखि नै संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
आगामी दिनहरूमा समेत विभिन्न भाषा, संस्कार, संस्कृति संरक्षण तथा संवर्द्धन गर्दै सामाजिक कार्यमा समर्पित हुने महासचिव लिङ्खिमको भनाइ छ ।