लन्डन । तमु प्ये ल्हु संघ युकेले यही ३० डिसेम्बर २०२५ मा ल्होसार (नयाँ वर्ष) मनाउने भएको छ ।
संघले विगतका वर्षहरुमा झैं नेपालबाट कलाकार ल्याएर ल्होसार मनाउन लागेको हो । ह्यारो लेजर सेन्टरस्थित क्रिष्टचर्चमा हुने कार्यक्रमका लागि यस वर्ष चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायिका निर्जला गुरुङ र कलाकार बालकाशी गुरुङ बेलायत आउने आयोजक तमु प्ये ल्हु संघ यूकेले जनाएको छ ।
'तमु प्ये ल्हु संघ युकेले “त ल्हो” (घोडा वर्ग) आगमनको पावन अवसरमा यही ३० डिसेम्बर २०२५, मंगलबारका दिनमा त-ल्होसार महोत्सव आयोजना गर्न गई रहेको जानकारी गराउँदछु,' संघ सूचनामा लेखिएको छ, 'उक्त कार्यक्रममा युकेमा छरिएर बस्नुभएका समस्त दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिन हुन हार्दिक विनम्र अनुरोध गर्दछ ।'
कार्यक्रममा बिहान १० बजे धार्मिक पूजा हुनेछ । त्यसपछि ख्यातिप्राप्त कलाकाहरुबाट प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम, कक्टेल डान्स पनि हुने तमु प्ये ल्हु संघ युकेका प्राविधिक इन्द्रेश ङोप्छेले जानकारी दिए । कार्यक्रममा सहभागीले प्रवेश शुल्क २५ पाउन्ड तिर्नुपर्ने छ । तर ६ देखि १२ वर्ष उमेर समूहकाले १५ पाउन्ड मात्रै प्रवेश शुल्क तिरे पुग्नेछ ।
यस वर्ष तमु समुदायले सप्ह्री ल्हो (सर्प वर्ग)को बिदाइ र त ल्हो (घोडा वर्ग)को स्वागत गरी ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । नेपालमा गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।