लन्डन । नेप्लिज कम्युनिटी टनब्रिज यूकेको सक्रियतामा च्यारिटीका लागि संकलित २ हजार पाउन्ड परोपकारी संस्था बबुन्स क्यान्सर सपोर्टका कोफाउन्डर हेडी स्पीकरनेल-फोडलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा हेडीका पिता कोफाउन्डर डग्लस स्पिकरनेलको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै हेडीले क्यान्सरजस्ता प्राणघातक रोगका बिरामी तथा उनीहरूको परिवारले भोग्नुपर्ने मानसिक, सामाजिक र स्वास्थ्य सम्बन्धी चुनौतीबारे जानकारी गराइन्।
उनीले भनिन्, ‘कोभिड कालमा आफ्नी आमालाई क्यान्सरका कारण गुमाउनुपरेपछि समाजमा यस प्रकारको सहयोग र सचेतना अत्यावश्यक छ भन्ने बोध भयो। सोही पीडादायी अनुभवपछि नै आमाको नाममा बबुन्स क्यान्सर सपोर्ट स्थापना गरिएको हो।’

उनका अनुसार बबुन्स स्थापनादेखि नै सयौँ पीडित तथा परिवारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग प्रदान गर्दै आएको छ। नेपाली समुदायको निरन्तर परोपकारी योगदानप्रति कृतज्ञता व्यक्त गर्दै हेडीले नेपाली समाजको “उदारता र मानवीयता अनुकरणीय” रहेको बताइन्।
कार्यक्रममा अर्को वक्ता केन्ट प्रहरी प्रतिनिधि Irina Mgebrisvili ले समुदायमा दिनहुँ बढिरहेका विभिन्न अपराधजन्य घटनाबारे सचेत गराउँदै नेपाली समुदायले गर्दै आएको सहयोग तथा अनुशासित व्यवहारको प्रशंसा गरिन् । उनले समुदाय प्रहरी सहकार्य अझै प्रभावकारी बनाउन निरन्तर सहयोगको अपेक्षा गरिन्।
कार्यक्रममा सहभागी नेपाली व्यवसायीहरूले समेत बबुन्सको परोपकारी कार्यका लागि आर्थिक सहयोग प्रदान गरेका थिए । साथै समुदायमा कार्यरत नर्स तथा डेन्टल नर्सहरूले ‘तम्बोला खेल’का लागि आवश्यक सबै पुरस्कार प्रायोजन गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए ।

कार्यक्रमको सशक्त सञ्चालन महासचिव नुतन थापा र सचिव ज्योती गुरुङले संयुक्त रूपमा गरेका थिए । एनसीटीका उपाध्यक्ष याम गुरुङले स्वागत मन्तव्य दिएका थिए । अध्यक्ष भेष थापाले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।
उनले परोपकारी क्षेत्रमा एनसीटीका सदस्यले खेलेको भूमिकाप्रति गौरव महसुस भएको र समुदायबीच परोपकार, स्वास्थ्य सचेतना र सामाजिक सुरक्षाबारे महत्त्वपूर्ण सन्देश प्रवाह भएकोसमेत बताए ।