लन्डन । गुल्मी जिल्ला समाज यूकेले विभिन्न कार्यक्रमसहित ३२ औं विश्व अपांगता दिवस मनाएको छ ।
लन्डन वेलिङको सेन्ट माइकल कम्युनिटी हलमा आइतबार ३० नोभेम्बर २०२५ मा विश्व अपांगता दिवस मनाइएको हो । अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले रहेका थिए ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडी, अध्यक्ष रुद्र थापा, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्वअध्यक्षहरु अर्जुन गौतम, राम गलामी र टोप पल्लीलगायतले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी गरेका थिए भने पण्डित निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले गुल्मी जिल्ला समाजले अपांगता दिवसको अवसरमा बर्सेनि गर्दै आएको च्यारिटी कार्यक्रमबाट आफू प्रभावित भएको बताए । उनले बेलायतमा रहेका नेपालीहरु मिलेर जम्मा गरेको रकम नेपालमा आवश्यकतामा रहेका मानिसलाई सहयोग गर्ने कार्य प्रशंसालायक रहेको उल्लेख गरे ।
समाजले गुल्मी जिल्लामा गर्दै आएका परोपकारी कार्यहरुलाई निरन्तरता दिँदै भविष्यमा अन्य जिल्लाहरुमा समेत विस्तार गर्न सकोस् भन्ने शुभेच्छा कार्यवाहक राजदूत दुवाडीले प्रकट गरे ।

समाजका अध्यक्ष रुद्र थापाले अपांगता दिवस च्यारिटीमा संकलित रकमबाट भविष्यमा अक्षय कोष नै स्थापना गरी समाजका परोपकारी कार्यहरु व्यवस्थित तवरले सञ्चालन गर्ने योजना रहेको सुनाए । उनले कार्यक्रम सफल पार्न भूमिका निर्वाह गर्ने सबै अतिथि, सहयोगदाता, स्वयमसेवक तथा समाजको टीमलाई धन्यवाद दिए ।
संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले समाज स्थापना र अपांगता दिवस च्यारिटी सुरुआतको सन्दर्भ र पृष्ठभूमिबारे जानकारी गराए ।
कार्यक्रममा समाजका सल्लाहकारहरु विनोद ज्ञवाली र कोश्लेश्वर ढकाल, एनआरएनए यूके प्रवक्ता डा कुलप्रसाद कँडेल, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष राममाया विष्ट, पशुपतिनाथ मन्दिर लन्डन अध्यक्ष रोमनाथ पाण्डेगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रुपरेखाबारे बताएकी थिइन् । उक्त अवसरमा समाजलाई विभिन्न माध्यमबाट सहयोग गर्ने संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु मोती भण्डारी, चक्रबहादुर राना, मीन दर्लामी, गोविन्द खरेल, समाजसेवी व्यवसायी संगीता मगर, पत्रकारलगायतलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रमको सहसंयोजन सचिव राधा खरेलले गरेकी थिइन् । कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएका लोकदोहोरी गायक अर्जुन कुँवरले सांगीतिक प्रस्तुति गरी मनोरञ्जन दिलाएका थिए । दीपक मैथानेले सञ्चालन गरेको सो सत्रमा डिजे हेम विष्टले समेत नचाएका थिए ।


कार्यक्रममा समाजका सल्लाहकार ८६ वर्षीय पूर्व गोर्खा वीरबहादुर थापाले नेपाली र अंग्रेजी गीत गाएर सहभागीको मन जिते । सो अवसरमा नौमती बाजा यूके गुल्मीले प्रस्तुति गरेको थियो । अपांगता दिवसको सन्दर्भमा रेशम अर्याल र पन्थीले कविता वाचन गरे । सुआज्ञा केसी, जुना पुन, जेनिशा पुन, अलिशा पुन, अस्मिता मगर, विशाल तामाङ, युवराज डांगीलगायत स्थानीय कलाकारहरुले आकर्षक नृत्य देखाए ।
कार्यक्रमबाट संकलित रकमको विवरण चाँडै सार्वजनिक गरिने र नेपालमा अपांगता भएका मानिसहरुको सहयोगमा हस्तान्तरण गरिने जनाइएको छ ।