अल्डरसट । नेपाली भिलेज यूकेले स्थापना भएको करिब चार वर्षपछि पहिलो पटक ब्रेकनस्थित आफ्नो परिसरबाट बाहिर निस्केर अल्डरसटको द प्यालेस हलमा विशेष हिउँदे भेला आयोजना गरेको छ ।
आइतबार भएको भेलामा परियोजनाका २९३ शेयरधनी तथा नयाँ शेयर किन्न इच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, गतिविधि तथा आगामी योजनाबारे विस्तृत प्रस्तुति दिइयो । विशेष रूपमा परियोजनासँगै जोडिएको २२ आवासीय कोठा सहितको ध्यान केन्द्र बुद्धिस्ट रिट्रिट सेन्टर Aberclydach House अहिले बजारमा बिक्रीमा आएको र गत साधारण सभाले ‘जसरी पनि खरिद गर्नुपर्ने’ निर्देशन दिएको विषयमा छलफल भएको थियो ।
परियोजनाको Phase 3 पूरा गर्न यसको खरिद अत्यावश्यक भएकोले नेपाली भिलेज यूकेले तेस्रो शेयर क्याम्पेनमार्फत रकम संकलन गरिरहेको छ । शेयर क्याम्पेनअन्तर्गत ३१ डिसेम्बर २०२५ भित्र ३०० नयाँ शेयरधनी थप्ने लक्ष्य राखिएको छ । शेयरधनीहरूलाई आफ्ना साथीभाइ तथा चिनजानकालाई शेयर किन्न प्रोत्साहित गर्न आग्रह गरिएको थियो ।

नेपाली भिलेजका परियोजना प्रमुख मेजर खुशीमान गुरुङ MVO ले Aberclydach House खरिद गरेपछि परियोजनाले पाउने उपलब्धि, सम्भावित आम्दानी तथा विकास योजनाबारे विस्तृत प्रेजेन्टेसन प्रस्तुत गरे । कार्यक्रममा उत्साहजनक वातावरणबीच १८ जनाले तत्काल नयाँ शेयर खरिद गरी परियोजनाप्रतिको विश्वास प्रकट गरे ।
शेयरधनी तथा सहभागीहरूका विविध जिज्ञासाहरूलाई सम्बोधन गर्न प्रश्नोत्तर सत्र पनि राखिएको थियो। नेपालबाट आएका मास्टर ट्रेनर ईन्द्र गुरुङ र श्रीमती राजेश्वरी श्रेष्ठ गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गोरखा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, स्थानीय व्यवसायीसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा माया केयर फाउन्डेसनका प्रमुख राज पाण्डे, द प्यालेस अल्डरसटका सञ्चालक रिखीराम रानालगायत १८ जनालाई शेयर प्रमाणपत्र प्रदान गरिएको थियो ।

परियोजनाले खरिद गर्न लागेको बिल्डिङका बारेमा गहन विश्लेषणसहित प्रोपर्टी व्यवसायी हर्क गुरुङ र पीताम्बर गुरुङले प्रकाश पारेका थिए । परियोजनामा नयाँ पुस्तालाई जोड्नुपर्नेमा सबैको जोड थियो ।
कार्यक्रम सम्पन्न भएसँगै शेयर क्याम्पेनप्रतिको उत्सुकता बढेको आयोजकले जनाएको छ । सहभागीको सक्रियता र नयाँ शेयर खरिदको प्रतिबद्धताले Aberclydach House खरिदको लक्ष्य समयमै पूरा हुने आशा प्रबल बनेको बताइएको छ ।

