पोखरा । सहारा यूकेले २५ औं आहा रारा पोखरा गोल्डकपका लागि ट्रफी अर्डर दिएको छ ।
सहारा क्लब पोखराको आयोजनामा आगामी फेब्रुअरी १० देखि २१ सम्म (माघ २७ देखि फागुन ९) मा हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताका लागि सोमबार बेलायत स्यान्डर्डस्स्थित आर एन्ड आर ट्रफी पसलमा अर्डर दिइएको हो । हरेक साल सहारा यूकेले प्रायोजन गर्दै आएको ट्रफी अर्डरका लागि सहारा यूकेका पूर्वअध्यक्षहरु मिनबहादुर गुरुङ, ले रि कुसाङ गुरुङ, कुमार गुरुङ ट्रफी पसलमा पुगेका थिए ।
सहारा यूकेले विजेता, उपविजेता, बेस्ट प्लेयर, बेस्ट स्कोरर, रेफ्री, टप स्कोरर, म्यान अफ द म्याचलगायत विधाका लागि ट्रफी अर्डर गरेको सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङले जानकारी दिए । उनले सहारा क्लब पोखराले सहारा यूकेलाई ट्रफी प्रायोजन गर्न दिनु राम्रो अवसर रहेको भन्दै यस वर्ष पृथक् र थप गुणस्तरीय ट्रफी हुनेसमेत जानकारी गराए । सहारा यूकेका अनुसार ट्रफी र मेडल गरी १ हजार पाउन्ड जतिको अर्डर दिइएको छ ।
सहारा यूकेले ट्रफीबाहेक प्रतियोगिताको हरेक दिन हुने म्यान अफ दि म्याच, बेस्ट स्कोरर, बेस्ट डिफेन्डर, बेस्ट कोचलगायत विधामा नगद पुरस्कार पनि प्रायोजन गर्दै आएको पूर्वअध्यक्ष गुरुङले स्मरण गराए ।
यस्तै पूर्वअध्यक्ष मिनबहादुर गुरुङले आहा रारा गोल्डकपको २५ औं संस्करण अर्थात् सिल्भर जुब्ली भएकोले विशेष खालको ट्रफी, मेडल अर्डर दिइएको बताए ।
यस्तै पूर्वअध्यक्ष ले रि कुसाङ गुरुङले सन् २००९/०१० देखि नै सहारा यूकेले आहा रारा गोल्डकपमा ट्रफी प्रायोजन गर्दै आएको बताए ।
पूर्वअध्यक्षत्रयले यस वर्षको सहारा गोल्डकपमा सहभागी हुन सहारा यूकेका पदाधिकारी, सदस्य र शुभचिन्तकहरु आग्रहसमेत गरेका छन् ।
आहा रारा गोल्डकपबारे सोमबार नै पोखरामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या अझै टुङ्गो नलागेको उनले बताए ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेको बताए । फुटबलको विकासका लागि पोखरा महानगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्डकपसँगको सहकार्य निरन्तर रहने बताए ।
प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र उप–प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ ।
गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।



