लन्डन । नेपाली भिलेज यूकेले यही ३० नोभेम्बर २०२५ मा लाइभ म्युजिकसहित स्पेसल विन्टर गेट-टुगेदर आयोजना गर्ने भएको छ ।
सञ्चालक, सेयर होल्डरसहितको भेटघाट कार्यक्रम अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा हुने मार्केटिङ डारेक्टर जस मुसेन्स र डारेक्टर टिकाराम (जीवन) गुरुङले जानकारी गराएका छन् । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने छ ।
नेपाली भिलेज यूकेका अनुसार, बिहान ११ बजे सबै जम्मा भएर मिट एन्ड ग्रिट्स, साढे ११ देखि १ बजेसम्म लन्चको समयतालिका रहेको छ भने सवा १ देखि साढे २ बजेसम्म फर्मल ब्रिफ/अपड्ट गराइने भएको छ । यस्तै पौने ३ देखि साढे ३ सम्म प्रश्नोत्तर र छलफल, साढे ३ देखि ४ बजेसम्म सेयर होल्डर सर्टिफिकेट प्रस्तुति र सवा ४ देखि साँझ ६ बजेसम्म सांस्कृतिक प्रस्तुति र लाइभ म्युजिक हुने छन् ।
स्मार्ट क्याजुयल ड्रेसमा सहभागी हुन समेत अनुरोध गरिएको छ । शुल्क १० पाउन्डमात्रै लाग्नै सूचनामा उल्लेख छ । कार्यक्रममा सेयर होल्डरहरु र सेयर लिन इच्छुक महानुभावहरु झन्डै २०० को संख्यामा उपस्थित हुने अपेक्षा गरिएको नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले जनाए ।
नेपाली भिलेज यूकेले बेलायतमा नेपाललाई चिनाउने र मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्र बनाउने उद्देश्य २०२१ मा स्थापना गरिएको हो । यस परियोजनामा दुई सय जनाभन्दा बढी सेयर होल्डर पुगिसकेको प्रमुख निर्देशक मेजर गुरुङ एमभीओले जनाएका छन् ।
नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो । यो बेलायतमा मात्र नभई यूरोपकै यस प्रकारको पहिलो परियोजना रहेको प्रमुख निर्देशक मेजर गुरुङले बताए । बेलायतमा रहेका नेपालीहरूले धेरै पहिलेदेखि नै बिदा मनाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्नका निम्ति नेपाल झल्किने आफ्नै थलो होस् भन्ने चाहना राख्दै आएका थिए । यसैका कारण ‘नेपाली भिलेज’ निर्माणको अवधारणा जन्मिएको उनले जनाए । नेपाली भिलेजमा जोकोहीले आफ्नो व्यस्त दैनिकीबाट छोटो विश्राम लिएर छुट्टी मनाउन वा ग्रामीण क्षेत्रको अनुभवसहित रमाइलो गर्न सक्ने छन् ।
नेपाली भिलेजमा बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, १०८ धारालगायतका नेपालका प्रख्यात स्मारकका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रम गर्नका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व आयोजनाका लागि समेत सुविधा पाइने छ ।
यस परियोजनाले सात समुद्रपारि पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउन मद्दत पुगोस् भन्ने ध्येय लिएको भन्दै मेजर गुरुङले ग्रामीण नेपालको झझल्को आउने आभाष हुने गरी बिदा मनाउने स्थानको निर्माण गरिने जानकारी दिए ।
परियोजना निर्देशक तथा व्यवस्थापन समितिमा मेजर खुशीमान गुरूङ एमभिओ अध्यक्ष तथा प्रबन्ध निर्देशक, मानप्रसाद गुरूङ उपाध्यक्ष, लोकेन्द्रराज श्रेष्ठ कोषाध्यक्ष, टिकाराम गुरूङ सचिव, बिरबिक्रम भट्टराई प्रवक्ता, क्या. सूर्यप्रकाश गुरूङ अपरेशन, कोलिन प्रिस प्लानिङ, जशु गुरूङ मशेंस मार्केटिङ्, शेरबहादुर गुरूङ, मे. सोभितबहादुर हमाल ठकुरी एमभीओ, मधु गुरूङ, नन्दबहादुर बयाम्बू मगर, गंगाप्रसाद गुरूङ, डम्बरबहादुर सुनुवार र अधिवक्ता बालकृष्ण गुरूङ कानुनी सल्लाहकार रहेका छन् ।