लन्डन । बेलायतको फार्नबोरोस्थित फाल्कोन बल हाउसमा पहिलोपटक आयोजना गरिएको ‘आकाशा वेलनेस एन्ड हिलिङ रिट्रीट’ सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपालबाट आएका आकाशा मास्टर ट्रेनर तथा इनिसिएटर इन्द्र गुरुङ र राजीश्वरी श्रेष्ठ गुरुङको नेतृत्वमा सञ्चालन भएको तीनदिने आवासीय रिट्रीट २३ नोभेम्बरमा सम्पन्न भएको हो ।
उक्त रिट्रीटमार्फत ७ जना सहभागीलाई लेभल–१, एकजनालाई लेभल–२ र १ जनालाई लेभल–३ को दीक्षा प्रदान गरिएको आयोजकले जनाएको छ । साथै २४ नोभेम्बरमा ५ जनालाई निजी रूपमा लेभल–१ को दीक्षा दिइएको थियो। यसरी कुल १४ जना नयाँ आकाशा हिलर तयार भएका छन् ।
कार्यक्रमको संयोजन गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ तथा उनकी श्रीमती संगीना गुरुङले गरेका थिए । रिट्रीटको सफल आयोजनाप्रति आकाशाका संस्थापक ज्याक मकानीले दुवै ट्रेनरहरूको समर्पण र दृष्टिको सराहना गर्दै बैंककबाट सन्देश पठाएका थिए ।

‘इतिहासमै पहिलोपटक हामी बेलायतमा आकाशा रिट्रीट सुरु गर्दैछौँ। यो नयाँ अध्यायको सुरुवात हो । नरम, शक्तिशाली र लामो समयदेखि प्रतीक्षित । यो परियोजना इन्द्र गुरुङ र रजी श्रेष्ठ जस्ता दुई उल्लेखनीय आत्माद्वारा जीवन्त बनेको हो,’ आफ्नो सन्देशमा उनले भने, ‘उनीहरूको समर्पण र स्पष्ट उद्देश्यले यो रिट्रीटको जग बसाएको छ । आशा छ। यो बढोस्, फस्टाओस्, र रूपान्तरण चाहने सबैमा पुग्न सकोस्। र आकाशा ऊर्जाले संयुक्त अधिराज्यमा आफ्नो सुन्दर नयाँ घर भेट्टाओस् ।’
मास्टर इन्द्र गुरुङका अनुसार, यो रिट्रीटको मुख्य उद्देश्य सहभागीलाई अनुभवात्मक यात्रामार्फत ब्रह्माण्डीय शक्तिसँग प्रत्यक्ष जडान गराई आफ्नै आन्तरिक शक्ति र पूर्णता पहिचान गराउनु थियो । उच्च आत्मासँगको गहिरो सम्पर्क, आन्तरिक शान्ति, भावनात्मक शुद्धीकरण, नवीकृत ऊर्जा, आध्यात्मिक दिशाको स्पष्टता र दैनिक जीवनमा लक्ष्यप्रति केन्द्रित हुन सिकाउनु रिट्रीटका प्रमुख तत्वहरू हुन् ।

पीपलका एमडी तथा सहभागी सूर्य गुरुङले कार्यक्रमलाई ‘अत्यन्तै व्यावहारिक र ऊर्जामय’ भएको बताउँदै ऊर्जा विज्ञान, चक्र प्रणाली, पाँच तत्व, पेन्डुलम प्रयोग, आकाशाका प्रतीक (सिम्बल) र दैनिक अभ्याससम्बन्धी पाठ अत्यन्त उपयोगी भएको बताए ।
रिट्रीटको अन्तिम दिन ‘नेचर वर्क’ अन्तर्गत होली लेक किनारमा विशेष सत्र आयोजना गरिएको थियो, जहाँ मास्टर इन्द्र र राजीले सबै दीक्षित सहभागीलाई आकाशा कोचिङ एल्यायन्स (ACA) को प्रमाणपत्र प्रदान गरेका थिए ।

