लन्डन- लन्डनको एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी योमन चन्दको सम्झनामा श्रद्धान्जलीसभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ ।
केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपराह्न आयोजित सभामा श्रद्धाञ्जली व्यक्त गर्दै बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै न भएर समुदायकै क्षति भएको बताए ।
उनले परिवारको आग्रह अनुसार स्व. योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिए । बर्न्टओक नेपाली समाजका उपाध्यक्ष मुरारी थापाले समाजका सदस्यहरूले मात्रै झन्डै तीन हजार पाउन्ड बराबरको सहयोग गरेको जनाउँदै छोटो समयमै विभिन्न संघ संस्था तथा व्यक्तिबाट झन्डै २० हजार पाउन्ड बराबरको सहयोग संकलन भएको जानकारी दिए ।
योमनले काम गरेका म्याकडोनाल्डस तथा इजीका पूर्व सहकर्मीहरूले १ हजार ३०० पाउन्डभन्दा बढी सहयोग गरेका छन् ।
एम्पल इन्टरनेसनल एडुकेसनका निर्देशक प्रमोद अधिकारीले आफू सन् २०१० मा विद्यार्थीको रूपमा बेलायत आएको स्मरण गर्दै स्व. योमनको निधनबाट मर्माहत भएको बताए । उनले दुखको घडीमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने पनि बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मर्दा पर्दा सहयोग गर्ने नेपाली संस्कृति नै भएको भन्दै स्व योमनको शव नेपाल पठाउन पारदर्शी रूपमा सहयोग संकलन गरिएको र बेलायत स्थित नेपाली समुदायबाट छोटो समय मै उल्लेख्य प्राप्त भएको बताए ।
उनले अर्थ संकलनमा विशेष सहयोग गरेका बर्न्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिस कम्युनिटी, राप्ती समाज यूके, ठकुरी समाज यूके, एनआरएनए स्कटल्यान्ड, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डका विद्यार्थीहरू, सुदूरपश्चिम विद्यार्थी समाज लगायत सम्पूर्ण संघसंस्था तथा सबै सहयोगीलाई धन्यवाद दिए ।
सभामा बर्न्टओक नेपाली समाजकी हेल्थ एन्ड वेलबिइंग कोअर्डिनेटर सुषमा गुरुङ, पूर्व सहकर्मी दीपक राई लगायतले मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभाको सुरुमा स्व. योमन चन्दको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।
परिवारको तर्फबाट बोल्दै स्व. योमन चन्दका दाजु सुजन शाहले अकल्पनीय दुखको यो घडीमा नैतिक तथा भौतिक सहयोग गर्नु हुने बेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।
नेपाली समुदायले देखाएको स्नेह र दरिलो सहयोगका कारण आफूहरूले कहिल्यै परदेशमा रहनु परेको जस्तो अनुभूति गर्नु नपरेको उनले जनाए। उनले योमनले चाडै नै छोडेर गए पनि उनको स्वर्गमा बास होस् भन्ने कामना गरे।
श्रद्धाञ्जली सभामा लन्डन बरो अफ बार्नेटका पूर्वडेपुटी मेयर काउन्सिलर लक्ष गुरुङ, एनआरएनए यूकेका प्रवक्ता श्याम लुइँटेल लगायत समाजका अगुवाहरूको उपस्थिति थियो। श्रद्धाञ्जली सभाको सञ्चालन पत्रकार तथा राप्ती समाज यूकेका सल्लाहकार भगीरथ योगीले गरेका थिए।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका– ३ निवासी योमन चन्दको गत मंगलबार (११ नोभेम्बर) निधन भएको थियो ।
युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एन्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका थिए ।
उनको शव शुक्रबार कतार एयरवेजबाट काठमाडौँ पठाइने र त्यसपछि सल्यानस्थित आफ्नै गाउँमा लगेर अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ ।