काठमाडौँ । गुरुङ साहित्यिक मञ्च नेपालकी संस्थापक अध्यक्ष तथा गौरी तमु ‘जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छन्।
मानव अधिकार, शान्ति, लोकतन्त्र, सद्भाव र सहिष्णुताका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष तमुलाई प्रदान गरिएको हो ।
गोर्खा मिडियाकी स्तम्भकारसमेत रहेकी तमुले साहित्यमा अनुराग राख्ने गुरुङ समुदायलाई संगठित गर्दै साहित्यिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छन् । गुरुङ साहित्य करिब शून्य अवस्थामा रहेको बेला छरिएका साहित्यकारलाई एकताबद्ध गर्दै उनले दुई कार्यकालसम्म मञ्चको अध्यक्षको रूपमा प्रभावकारी नेतृत्व दिएकी थिइन्।
आदिवासी जनजाति, महिला, दलित समुदायको हकहित, समावेशिता र समानताको पक्षमा कलम चलाउँदै आएकी तमुले गुरुङ भाषा, धर्म, संस्कार, संस्कृति र कलाको संरक्षण–प्रवर्द्धनमा पनि साहित्य र पत्रकारिताको माध्यमबाट निरन्तर आवाज बुलन्द गर्दै आएकी छन् ।
समाज रूपान्तरणमा तमुले पुर्याएको योगदानको कदर गर्दै प्राप्त भएको यो सम्मानलाई उनका सहकर्मी र शुभेच्छुकले योग्य व्यक्तित्वको योग्य सम्मानका रूपमा व्याख्या गरेका छन् ।
उनको नयाँ कृतिसमेत छिट्टै सार्वजनिक हुने तयारी भइरहेको जनाइएको छ ।