लन्डन । बेलायतमा १७ औं संस्करणको नेपाली मेला आगामी ३० अगस्ट २०२६ मा हुने भएको छ ।
आयोजक तमु धीं यूकेले नेपाली मेलालाई विगतभन्दा व्यवस्थित र प्रभावकारी बनाउन भन्दै तयारी छलफलसमेत सुरु गरेको छ । केम्पटन पार्कमा हुने नेपाली मेला-२०२६ को सफल आयोजना तथा तयारीलाई अझ प्रभावकारी बनाउन केम्पटन पार्कका आधिकारिक प्रतिनिधिहरू र तमु धीं यूकेका पदाधिकारीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए ।
नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक महोत्सवमध्ये एक मानिने ‘नेपाली मेला’ लाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक समन्वय, व्यवस्थापन तथा प्राविधिक पक्षबारे विस्तृत कुराकानी गरिएको बैठकमा सहभागीहरूले जनाएका छन् ।
प्रतिनिधिहरूले मेलाका कार्यक्रम, सम्भावित चुनौती, सुरक्षा व्यवस्थापन, टिकट प्रणाली, स्टलहरूको व्यवस्थापन तथा समुदाय-मैत्री वातावरण निर्माणजस्ता विषयमा आफ्ना सुझाव तथा योजना प्रस्तुत गरे । छलफल सकारात्मक र फलदायी भएको आयोजक समितिले जनाएको छ । उनीहरूको भनाइअनुसार, आगामी दिनहरूमा थप तयारी बैठक गर्दै मेला तयारीलाई अन्तिम रूप दिने योजना छ ।
बैठकमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ तथा सल्लाहकार दिलरास गुरुङ सहभागी रहेका थिए ।