लन्डन । ईलमपोखरी समाज यूकेको १६औं वार्षिक साधारणसभा र ७औं अधिवेशन शनिबार १५ नोभेम्बरका दिन डिलाउन्ज रेस्टुरेन्ट एण्ड बार अल्डरसटमा भव्यताका साथ सम्पन्न भएको छ ।
अध्यक्ष परशु गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा समाजको प्रगति र भलाइका लागि विविध विषयहरुको गहिरो छलफल गरी पारित गरियो । बैठकको अन्तमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालको अवधिभर सबैजनाबाट पाएको सहयोग र मायाको लागि धन्यवाद दिँदै औपचारिक रुपमा छैंटौ कार्यसमितिलाई विघटन गर्दै ७औं अधिवेशनका निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए ।

७औं अधिवेशनको निर्वाचन समितिका लागि निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ प्रमुख आयुक्त, सल्लाहकारद्वय दलबहादुर गुरुङ र शेरबहादुर सुनार आयुक्त रहेका थिए । प्रमुख आयुक्त गुरुङको संयोजकत्वमा निर्वाचन प्रक्रिया प्रारम्भ भएको थियो ।
अध्यक्ष, एक उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सांस्कृतिक सचिव, फोटोग्राफर, फुड मेम्बर र १५ जना सदस्यहरुसहित सातौं कार्यसमितिको नेतृत्वको लागि वर्तमान अध्यक्ष परशु गुरुङ तेस्रो कार्यकालको लागि पुनः अध्यक्ष पदमा चयन गराइयो ।
स्मरण रहोस्, अध्यक्ष गुरुङले २०१९-२०२२ (पाँचौं) २०२२-२०२५ (छैटौं) कार्ययमितिलाई नेतृत्व गरिसकेका थिए भने पुनः २०२५-२०२८ का लागि सातौं कार्यसमितिको अभिभारा लिएका छन् ।

अधिवेशनको प्रारम्भमा प्रमुख आयुक्त पूर्णराज गुरुङले निर्वाचन प्रक्रियाबारे स्पष्ट पार्दै नयाँ पदाधिकारीहरु तथा सदस्यहरुको नाम वाचन गरी अगाडि बोलाइएको थियो । त्यसपश्चात् अयुक्त शेर सुनारले नवनिर्वाचित पदाधिकारीहरु र सदस्यहरुलाई विधानमा उल्लेख गरेअनुसार शपथ ग्रहण गरायो । त्यसपश्चात् प्रमुख आयुक्तले ओहोदाको प्रमाणपत्र प्रदान गरे भने आयुक्तद्वयले क्रमशः खादा लगाई अबिर (टीका) ग्रहण गराए ।
अन्तमा ७औं कार्यसमितिका लागि नवनिर्वाचित अध्यक्ष परशु गुरुङले आफ्नो भावी योजनाहरुबारे व्यक्त गरी सम्पूर्ण कार्यक्रम समापन गरियो ।
