लन्डन । तमु समाज यूकेले नेपालका सफल व्यवसायी तथा समाजसेवी सुनिल गुरुङलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको सभापतित्वमा लन्डनस्थित सडबरी ग्रिनफोर्डमा ११ नोभेम्बरमा विशेष समारोह आयोजना गरी उनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाका निवर्तमान महासचिव धरम बाल गुरुङले स्वागत मन्तव्य दिँदै तमु समाज यूकेका गतिविधि र उद्देश्यबारे विस्तृत जानकारी प्रस्तुत गरे । संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले अतिथिप्रति शुभकामना व्यक्त गर्दै समाजको निरन्तर योगदानमा सहकार्यको प्रतिबद्धता जनाए ।

समाजका निवर्तमान अध्यक्ष शिवकुमार सम्मानित हुने व्यवसायी तथा समाजसेवी गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरे ।
गुरुङ नेपालको कास्कीको पोखरा महानगरपालिका–१०, बुद्ध चोक निवासी हुन् । उनी स्वर्गीय जमदार बिलबहादुर गुरुङ र हरशुवा गुरुङका कान्छा छोरा हुन् । गुरुङ परिवार इन्धन तथा पेट्रोलियम व्यवसायमा लामो समयदेखि संलग्न रहँदै आएको छ। स्व. जमदार बिलबहादुर गुरुङले पेट्रोल पम्प सञ्चालनमार्फत गण्डकी क्षेत्रको ऊर्जा आपूर्तिमा उल्लेखनीय योगदान गरेका थिए ।
सुनिलले त्यही व्यवसायलाई निरन्तरता दिइरहेका छन् । उनी नेपाल आयल निगमसँग आबद्ध इन्धन आपूर्तिकर्ता तथा ट्यांकर सेवा सञ्चालक हुनुका साथै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
व्यावसायिक सफलतासँगै उनी खेलकुद तथा सामाजिक सेवामा पनि सक्रिय छन् । उहाँ नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य, कास्की जिल्ला बक्सिङ संघ, रामघाट युवा क्लब, एलजी एसोसिएसन, सहारा क्लब पोखराका सल्लाहकार तथा फिट नेपाल स्पोर्ट्स प्लेक्सका संस्थापक हुन् ।

साथै, आहा–रारा गोल्डकपका आर्थिक संकलन समितिका संयोजकका रूपमा पनि उनको उल्लेखनीय योगदान रहँदै आएको छ । Bullsmen Clubका संरक्षक, गण्डकी प्रदेश खेलकुद परिषद्का सल्लाहकार तथा विभिन्न सामाजिक संस्थाका सल्लाहकारका रूपमा सक्रिय छन् ।
पोखरास्थित धार्मिक बौद्ध गुम्बाहरूमा पनि उनको सक्रिय सहभागिता रहँदै आएको छ । आफ्ना स्वर्गीय पिताको परिकल्पनामा स्थापित रामघाटस्थित बौद्ध सदन गुम्बामा र अन्य धार्मिक स्थलहरूमा समेत निरन्तर योगदान दिँदै आएका छन् ।
समारोहको विशेष अवसरमा तमु समाज यूकेका तर्फबाट सुनिललाई प्रदान गरिएको सम्मानपत्र पूर्वमहासचिव धरम बल गुरुङले वाचन गरेका थिए । अध्यक्ष बिन्दुकुमारी घलेले सम्मानपत्र र खादा अर्पण गरिन् । संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले गुरुङ परम्परागत फेटा लगाएर सम्मान गरे । आमा समूहकी अध्यक्षले पुष्पगुच्छा अर्पण गर्दै शुभकामना व्यक्त गरिन् ।

सम्मान ग्रहण गर्दै सुनिल गुरुङले तमु समाज यूकेको आतिथ्य र सम्मानप्रति हार्दिक आभार व्यक्त गरे । यस स्वागत र सम्मानले आफू भावुक र ऋणी भएको उनको भनाइ थियो । ‘यस अवसरमा मैले तमु समाजका गतिविधि र उद्देश्यबारे नजिकबाट जान्ने र बुझ्ने मौका पनि पाएको छु, जसले मलाई तमु समाजप्रति अझ गहिरो सम्मान र सकारात्मक धारणा राख्न प्रेरित गरेको छ,’ उनले भने ।
तमु समाज यूकेले बेलायत, नेपाल तथा अन्य मुलुकहरूमा गरेको सहयोग, समाजसेवा र आगामी पुस्ताका लागि गरिरहेका सकारात्मक कार्यहरूको उनले प्रशंसामेत गरे ।
अन्त्यमा अध्यक्ष घलेले उपस्थित अतिथि, पदाधिकारी, सल्लाहकार, आमा समूहका प्रतिनिधि तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ र शिव कुमार गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमती विमल गुरुङ, सल्लाहकारहरू बिजु गुरुङ, धरम बल गुरुङ, कार्यसमिति सदस्यहरू, ज्येष्ठ नागरिक तथा समाजका शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरूलाई अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेको परिवार र आजीवन सदस्य मैत गुरुङबाट स्वादिष्ट भोजन तथा पेय पदार्थको व्यवस्था गरिएको थियो ।
कार्यक्रम साँझ ७:३० बजे प्रारम्भ भई राति ९:३० बजे सम्पन्न भएको थियो ।
