लन्डन । ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (BGWS) ले बेलायत भ्रमणमा रहेका भिजनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा चिफ कोच मास्टर इन्द्र गुरुङ र उनकी धर्मपत्नी, भिजनरी इन्टरनेशनल प्रालिकी अध्यक्ष राजीश्वरी श्रेष्ठ गुरुङलाई विशेष स्वागत सम्मान गरेको छ ।
गत नोभेम्बर ९ तारिख गोर्खा भवन, फार्नबोरोमा आयोजित कार्यक्रमका सोसाइटीका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपीले गुरुङ दम्पतीलाई खादा र फूल दिएर बेलायत भ्रमण सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बिजिडब्लुएसका महासचिव क्षत्र राई, कोषाध्यक्ष टेकबहादुर थापा, सह–कोषाध्यक्ष प्रेम बुरालगायत कार्यसमितिका सदस्यहरूको उपस्थिति थियो ।

साथै विभिन्न समाजका प्रतिनिधिहरू– तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, भूपू मगर संघ यूकेको अध्यक्ष मे. रि. कुलबहादुर थापा, भूपू किरात राइ यायोख्याका अध्यक्ष रामधन राई, भूपू साहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ, गुल्मी समाज यूकेका भूपू अध्यक्ष ओमबहादुर थापा, गोर्खा वेलफेयर प्रोपर्टीका निर्देशक क्या. रि. राजेन्द्रमान गुरुङ, तथा पत्रकार महासंघ यूकेका सदस्यहरू दुत पुन, मिलन तमु, बम थापा सुर्यवंशी मगर र प्रकाश गुरुङ लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
स्वागतपछि छोटो मन्तव्य दिँदै मास्टर इन्द्र गुरुङले बिजिडब्लुएस परिवारसँग जोडिन पाउँदा अत्यन्त खुशी लागेको बताए । उनले आफ्नो बुबा पनि गोर्खा सैनिक भएकाले यो भेट आफ्नो पुर्खाको सम्झना झल्काउने अवसर भएको बताएका थिए ।
त्यस्तै, राजीश्वरी श्रेष्ठ गुरुङले पनि गोर्खा समुदायसँग नजिक हुन पाउँदा गौरवको अनुभूति भएको बताइन् । मास्टर इन्द्र गुरुङ NLP मास्टर ट्रेनर, आकासा हिलिङका मास्टर ट्रेनर र इनिसिएटर, साथै फायर वक इन्स्ट्रक्टरसमेत हुन्।

राजीश्वरी श्रेष्ठ गुरुङ NLP मास्टर ट्रेनर, क्लिनिकल साइक्लोजीका मास्टर, र आकासा हिलिङका मास्टर ट्रेनर तथा इनिसिएटर हुन् । दुवै जना योगिक साइन्सका पीएचडी स्कलर हुन् ।
गुरुङ दम्पतीले एक महिनाको बेलायत बसाइका क्रममा ‘आकासा वेलनेस एन्ड हिलिङ रिट्रिट’ सञ्चालन गर्ने कार्यक्रम पनि तय गरेका छन्। कार्यक्रमको सञ्चालन सोसाइटीका पीआर प्रकाश गुरुङले गरेका थिए।