लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युके र रस्मूरको जीएमपीले संयुक्त रूपमा शहीदको सम्झनामा स्मृतिसभा गरेका छन् । शनिबार अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा सभा सम्पन्न भएको हो ।
विश्व शान्ति र स्वतन्त्रताको लागि जीवन अर्पण गर्ने वीर शहीदहरूको साहस र बलिदानलाई सम्मान गर्ने उद्देश्यले सभा गरिएको जीआरएनसीले जनाएको छ । बिहान १० बजे जिआरएनसीका सदस्यहरूले सभाका लागि अन्तिम तयारी गरेका थिए ।
सहभागीहरू प्रिन्सेस गार्डेनस्थित जीपी सर्जरीको कार पार्कमा भेला भएर भीसी कुलवीर थापा मगरको स्मारकसम्म मार्च गरेका थिए । जीआरएनसीका पूर्वअध्यक्ष तथा ट्रस्टी रामधन राईले सभाबारे छोटो स्मृति वक्तव्य वाचन गरेका थिए ।

त्यसपछि दुई मिनेट मौन धारण गरिएको थियो । पाइपरले शोकगीत खेलेपछि पण्डित र लामा गुरुले सामूहिक प्रार्थना गरे । जीआरएनसीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तर बहादुर गुरुङ र महासचिव सुनिल रानाले गोरखा भिक्टोरिया क्रस (भीसी) हरूबारे तयार पारिएको साइटेसन वाचन गरेपछि भीसी थापा मगरको स्मारकमा माल्यार्पण गरियो ।
सभामा विभिन्न समूह बनाएर माल्यार्पण तथा रिथ अर्पण गरिएको थियो । जसअनुसार सांसद एलेक्स बेकर रस्मूर बोरो काउन्सिलका मेयर क्यालम स्टुअर्ट, जीआरएनसीका अध्यक्ष लीला सेलिङ मावो, ट्रस्टी रामधन राई, काउन्सिलर ग्यारेथ विलियमले अर्पण गरेका थिए ।
अल्डरसट ग्यारिजन कमान्डर ले. कर्नल स्टुअर्ट म्याकफर्सन, कमान्डिङ अफिसर QOGLR, गोर्खा मेजर QOGLR, आरएसएम QOGLR, मूर्तिकार एमी गुडम्यान, लेबर पार्टी लिडर, लिवदेम पार्टी लिडर, कन्जरभेटिब पार्टी लिडर, काउन्सिलर ले. कर्नेल डिक ब्राउन र काउन्सिलर ले. कर्नेल रहेका थिए ।
एनआरएनए अध्यक्ष अनिल मल्ल, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष रामचन्द्र गुरुङ, महासचिव डा. विशाल गुरुङ, मगर संघ यूकेका अध्यक्ष लाल पुन, केवाईसी रस्मूर अध्यक्ष थान्कुनान नाल्बो, किरात राई यायोक्खा रस्मूरका अध्यक्ष खड्क राई तथा गोर्खा ब्रिगेड विभिन्न इन्टेकका अध्यक्षहरूले माल्यार्पण र रिथ अर्पण गरेका थिए ।

यसैगरी, बेलायतमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्षहरू र गोरखा आमा समूह, नेतृ धनमाया गुरुङलगायत उपस्थित सम्पूर्णले फूल र माला चढाएर श्रद्धाञ्जली अर्पण गरे । सभाको संयोजन उपाध्यक्ष उत्तर बहादुर गुरुङ र महासचिव सुनिल रानाले गरेका थिए ।
