लन्डन । संस्थाको गौरवमय इतिहासमा तमु समाज यूकेले पहिलो पटक प्रतिष्ठित ‘लेडी मेयरको शो (The Lady Mayor’s Show)’ मा सहभागिता जनाउँदै छ ।
अध्यक्ष श्रीमती बिन्दु गुरुङको नेतृत्वमा अन्य १० जना नेपाली महिलाले एसियाली समूहको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै यस ऐतिहासिक अवसरमा सहभागिता जनाउने भएका हुन् ।
यस विशेष अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सिटी अफ लन्डनमा आएर टोलीलाई हौसला र समर्थन गर्न समाजमा निमन्त्रणासमेत गरेको छ ।
कार्यक्रम ८ नोभेम्बर २०२५ का दिन बिहान ११ बजेदेखि दिउँसो साढे दुई बजेसम्म सिटी अफ लन्डनमा हुनेछ ।
लन्डनकी ६९७औँ मेयर डेम सुसन ल्याङ्ली (Dame Susan Langley DBE) निर्वाचित भएकी छन् । उनले यसअघि Aldgate Ward बाट प्रतिनिधित्व गरेकी थिइन् ।
उनी ८०० वर्षको इतिहासमा तेस्रो महिला मेयर हुनुका साथै ‘लेडी मेयर अफ लन्डन’ उपाधि पाउने पहिली महिला हुन् ।
नवनिर्वाचित लेडी मेयरले ७ नोभेम्बरमा हुने Silent Ceremony मा पदभार ग्रहण गर्नेछिन् । त्यसको भोलिपल्ट हुने Lady Mayor’s Procession मार्फत Westminster पुगेर राजाप्रति निष्ठा शपथग्रहण गर्नेछिन् ।
सन् २०२५ को लेडी मेयर शोमा विश्वभरका ७ हजारभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ । सो अवसरमा हुने तीन माइलभन्दा लामो भव्य झाँकीमा विभिन्न देशका समुदायले आफ्ना संस्कृति, पोसाक र परम्परा प्रस्तुत गर्नेछन् ।
Lord Mayor’s Show विश्वकै सबैभन्दा पुरानो, लामो र लोकप्रिय नागरिक झाँकी हो । यसको सुरुवात १३औँ शताब्दीमा भएको हो ।
जब राजा जोनले City of London लाई आफ्नै मेयर चयन गर्ने अधिकार प्रदान गरे । यसमा एउटा सर्त राखिएको थियो । जसअन्तर्गत हरेक नयाँ मेयरले आफ्नो पदग्रहण पछि Westminster पुगेर राजाप्रति निष्ठा शपथग्रहण गर्नुपर्छ ।
त्यस युगदेखि आजसम्म निरन्तर जारी यो परम्परा विश्वकै सबैभन्दा प्रसिद्ध नागरिक उत्सवको रूपमा विकसित भएको छ ।
यस ऐतिहासिक अवसरमा नेपालको झण्डा, संस्कृति र समुदायको पहिचान गर्वका साथ प्रदर्शन गर्दै लेडी मेयरको शोमा सहभागी हुन पाउँदा संस्था नै गौरवान्वित रहेको समाजले जनाएको छ ।