काठमाडौँ । बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका छन्। सरकारले परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएपछि नेपाल फर्किएलगत्तै उनले बिहीबार साँझ मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन् ।
राजदूत घिमिरे गत माघ पहिलो साता जिम्मेवारी सम्हाल्न बेलायत पुगेका थिए । करिब १० महिना लन्डनस्थित नेपाली दूतावासमा राजदूतको जिम्मेवारी सम्हालेका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्वसचिव हुन् ।
उनी बुधबार आफ्नो फेसबुकमा यूकेलाई बिदा गरेको र यसक्रममा आफूप्रति देखाएको सम्मानप्रति आभार रहेको लेख्दै नेपाल फर्किएका थिए ।
सरकारले सोमबारमात्रै यूकेसहित ११ मुलुकका राजदूतावासहरूमा पत्राचार गरेर राजदूत फिर्ता हुन भनेको थियो । चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य , जापान र संयुक्त राज्य अमेरिकाका राजदूतलाई सरकारले परराष्ट्र मन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता हुन भनेको थियो।
उनीहरूलाई कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको थियो । घिमिरेले सम्पर्क गर्न भनिएको अन्तिम दिन राजीनामा दिएका हुन् ।
सर्वाेच्च अदालतको संयुक्त इजलासले आइतबारमात्र राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशको विषयमा सोमबार मन्त्रिपरिषद्मा छलफल हुँदा अन्तरिम आदेश बमोजिम थमौतीको पत्र नपठाउने अनौपचारिक निर्णय गरिएको थियो।
तर, सर्वाेच्चको अन्तरिम आदेशको हवाला र ‘सी लिंक’ नामक ट्राभल्स एजेन्सीले काटिसकिएका टिकट रद्द गर्ने वा नगर्ने भन्दै पठाएका पत्रको सम्बन्धमा सम्बन्धित राजदूतहरूले परराष्ट्रलाई पत्राचार गरेपछि सरकारले काटिएको टिकट अनुसार नै फिर्ता हुन सोमबार साँझ निर्देशन दिइएको थियो।
सर्वोच्च अदालतको अन्तरिम आदेश औपचारिक रुपमा नपुगेको मौकामा सरकारले यो निर्णय गरेको थियो।