लन्डन । नेपाल सरकारले बोलाएपछि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे मंगलबार नेपाल फर्किएका छन् ।
पत्नी सरिता न्यौपाने घिमिरेसहित राजदूत घिमिरे नेपाल फर्किएका हुन् । नेपाल फर्किँदै गर्दा उनले बुधबार आफ्नो कार्यकक्षको तस्बिरसहित फेसबुकमा लेखेका छन्, 'गुडबाई, डियर यूके'।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतलाई ३ दिनभित्र मन्त्रालयमा उपस्थित हुन सोमबार निर्देशन दिएसँगै घिमिरे पनि स्वदेश फर्किएका हुन् । घिमिरेलाई बिदाइ गर्न कार्यवाहक राजदूत विपिन दुवाडी र दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह हिथ्रो विमानस्थल पुगेका थिए ।
घिमिरेले गत १७ जनवरी २०२५ मा लन्डनस्थित नेपाली दूतावासमा २३औँ राजदूतका रूपमा कार्यभार सम्हालेका थिए । नेपाल सरकारले फिर्ता बोलाएपछि उनी करिब नौ महिनामै नेपाल फर्कनु परेको हो ।
सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाएको छ ।