लन्डन । प्हच्यु भाइखलक यूकेको नेतृत्व हस्तान्तरण गरिएको छ । २५ अक्टोबर, शनिबारका दिन रेडिङस्थित तमु प्ये ल्हु संघ भवनमा एक कार्यक्रमबीच अध्यक्ष जगत प्हच्युले सुशील प्हच्युलाई अध्यक्षता हस्तान्तरण गरेका हुन् ।
जगत संस्थाको स्थापनादेखि नै अध्यक्ष थिए । जगतले संस्थालाई यो उचाइमा पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै अब अध्यक्षको कार्यभार सम्हालेका सुशीललाई शुभकामनासमेत दिएका थिए ।

सो अवसरमा बेलायतको ६ महिना लामो सांगीतिक भ्रमण सकेर नेपाल फर्किन लागेकी गायिका प्रिया गुरुङको बिदाइ तथा सम्मान कार्यक्रम पनि राखिएको थियो । अध्यक्ष जगतकै अध्यक्षतामा भएको कार्यक्रममा भाइखलकको चेली भएको नाताले बिदाइ तथा सम्मान गरिएको थियो ।
गायिका प्रियाले गुरुङ र नेपाली गीत गाएर भरपुर मनोरञ्जन दिलाएकी थिइन् । प्हच्यु छोरीज्वाइँ, दाजुभाइ तथा दिदीबहिनीहरू सहभागी भएर भव्य रमाइलो गरेका थिए । संस्थाले गायिका प्रियालाई नगद, पछ्यौरी ओढाएर तथा फूलको गुच्छाले सम्मान गरेको थियो ।

कार्यक्रममा मिर्गौलाका ६ जना बिरामीहरूलाई पनि आर्थिक सहयोग गरिएको थियो ।
नेपालबाट आएर बेलायतका विभिन्न क्षेत्रमा छरिएर रहेका प्हच्यु तमुहरूलाई एकताबद्ध बनाउने उद्देश्यले सन् २०१० सालमा प्हच्यु भाइखलक यूके स्थापना गरिएको हो ।
यो संस्थाले कोभिड-१९ को महामारीको समयबाहेक स्थापनाकालदेखि निरन्तर भाइखलक र प्हच्युको चेली ज्वाइँहरूको साथमा हरेक वर्ष भेटघाट कार्यक्रमसमेत गर्दै आएको छ ।


