लन्डन । पुन समाज यूकेको देउसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार अक्टोबर १८ का दिन लन्डनस्थित स्टानवेल भिलेज हलमा पुन समाज यूकेको आयोजनामा देउसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । पुन जातिको मौलिक भाषामा गुञ्जिएको 'देउ सरै आइम पुगिम देउ सरै'को स्वरले सम्पूर्ण माहोललाई सांस्कृतिक रंगले रंग्यायो ।
कार्यक्रमको शुभारम्भमा उपस्थित दाजुभाइ, दिदीबहिनीहरूले कार्पाकेली बाबालाई धजा, अक्षता, धूपबत्ती चढाई माल्यार्पण गर्दै पुन जातिको रक्षा गरुन् भन्ने कामना गरे । समाजका अध्यक्ष गमबहादुर पुन र ज्येष्ठ नागरिक खरीलाल खुरोजा पुनको हातबाट दियो प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
त्यसपछि सुरु भयो पुन जातिको पुर्ख्यौली नृत्य, नानीबाबुहरूको रमाइलो प्रस्तुति, आमा समूहको नाचगान र देउसी-भैलोका परम्परागत भाका—'हजुरको आँगनैमा देउ सरै…'।
जस पुन र हर्क अर्मजा पुनको संयोजनमा आमा समूह तथा सम्पूर्ण सहभागीहरूले भरपुर मनोरञ्जन प्रदान गरे । कार्पाकेली बाबालाई सम्झँदै सेतो–रातो माला लगाएर, नेजा हातमै हल्लाउँदै, नाच्दै–गाउँदै, दान हाल्दै रमाइलो गरिँदै— देउसी-भैलो कार्यक्रम पुन समुदायको सांस्कृतिक पहिचान, एकता, र भावनात्मक सम्बन्धको उज्यालो दीप बनेर झल्किएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्वयंसेवक–स्वयंसेविकाहरूको समर्पण, प्रायोजकहरूको योगदान र पुन जातको परम्परागत स्वादिष्ट परिकारहरू सबैले उक्त साँझलाई अझ विशेष बनाएका थिए । खानपिन, कुराकानी र हाँसो–ठट्टाबीच सहभागीहरूबीच आत्मीयता अझ प्रगाढ बनेको आभाष भएको थियो ।
कार्यक्रमको समापनमा पुन समाज यूकेका अध्यक्ष गमबहादुर पुनले सधैंजस्तै साथ, सहयोग र माया दिने सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूप्रति विशेष धन्यवाद ज्ञापन गरे । साथै, जर्मनीदेखि सहभागी पाहुनाहरूलाई पनि उनले आभार प्रकट गर्दै पुन समाजको तर्फबाट आत्मीय स्वागत र कृतज्ञता व्यक्त गरे ।
'यो देउसी-भैलो कार्यक्रम पुन जात र समुदायको सांस्कृतिक पहिचान, एकता र भावनात्मक सम्बन्धको उज्यालो प्रतीक बन्यो—जहाँ परम्परा र आधुनिकता हातेमालो गर्दै, हर्ष र श्रद्धाले भरिएको साँझले हामी सबैलाई हाम्रो जरा र आत्मालाई पुनः सम्झायो,' अध्यक्ष गमबहादुर पुनले भने ।