लन्डन । क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटीले तिहारको उपलक्ष्यमा भाइटीका तथा देउसी-भैलो कार्यक्रम-२०२५ भव्य रूपमा सम्पन्न गरेको छ ।
अल्डरसटस्थित दी प्यालेस रेष्टुरेन्टको हलमा शनिबार १८ अक्टोबर २०२५ मा आयोजित कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको हो । चेलीबेटी प्रमुख लिना गुरुङ, क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, प्रमुख अतिथि नन्दकुमारी गुरुङ, प्रमुख संरक्षक क्याप्टेन जीवन गुरुङ तथा संस्थापक अध्यक्ष एवं संरक्षक नरजङ गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै औपचारिक कार्यक्रम समुद्घाटन गरेका थिए । लगत्तै कार्यक्रम संयोजक अल्पना तमुस्योले कार्यक्रमस्थलको स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी गराउँदै चेलीबेटीको तर्फबाट उपस्थित सबैजनालाई स्वागत गरेकी थिइन् । साथसाथै नेपालको सम्मान स्वरुप नेपाली राष्ट्रिय गान पनि बजाइएको थियो ।
कार्यक्रममा यस वर्ष स्वर्गारोहण भएका कुल पितृहरुको नाममा र नेपालको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको नाममा एक मिनेट मौनधारण पनि गरिएको थियो । चेलीबेटीहरूले आयोजना गरेको उक्त देउसी-भैलो कार्यक्रममा माइती पक्षबाट प्रमुख सल्लाहकार हरि गोविन्द र अध्यक्ष कुमार गुरुङले शुभकामना मन्तव्य दिएका थिए । अध्यक्ष गुरुङले विदेशजस्तो ठाउँमा आफ्नै परिवारका चेलीबेटीहरूबाट प्राप्त माया, ममता देख्दा अत्यन्तै खुशी लागेको र भावुक भएको बताए । उनले भने, 'विदेशमा हिजोका दिनमा हामी एकआपसमा चिनेका थिएनौं तर आज संस्थाको माध्यमबाट सबै एउटै परिवार बनेका छौं । यही परिवार आज एउटै छातामुनि भेला भएर हाम्रो परम्पराअनुसारको चाडपर्व मनाइरहेका छौं, जुन अत्यन्तै खुशीको कुरा हो ।'
'हामी जहाँ बसे पनि आफ्नो देशको परम्परा र चाडपर्वलाई जीवित राख्नु जरुरी छ र हामीले त्यसलाई कहिल्यै बिर्सिनु हुँदैन,' अध्यक्ष गुरुङले भने । उनले मुक्तिनाथ कागबेनीमा क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेद्वारा निर्माणाधीन गुम्बाको उद्घाटन यही वर्ष माघ २८ गते (फेब्रुअरी ११ तारिख)मा हुने जानकारी गराउँदै सो अवसरमा सम्पूर्ण दाजुभाइ तथा चेलीबेटीहरूलाई सहभागी हुन आग्रह गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले चेलीबेटी तथा माइतीबीचको सम्बन्ध झनै बलियो भएको महसुस भएको बताएका थिए । वरिष्ठ चेली बत्तिकुमारी गुरुङ र प्रमुख अतिथि नन्दकुमारी गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन गर्दै चेलीबेटी प्रमुख लिना गुरुङले भनेकी थिइन्, 'दाजुभाइ (माइती)हरू बेलायतजस्तो व्यस्त ठाउँमा आफ्नो अमूल्य समय निकालेर हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएकोमा सम्पूर्ण चेलीबेटीहरू अत्यन्तै खुशी छौं । यसरी नै चेलीबेटी र माइतीबीचको सम्बन्ध सधैं मजबुत रहोस् र हाम्रा माइती राजाहरूको सधैं जयजय रहून् ।'
कार्यक्रममा यूकेका विभिन्न संघ–संस्थामा आबद्ध रहेका दाजुभाइ तथा चेलीबेटीहरूमध्ये, संघ–संस्थामा सक्रिय भई अध्यक्ष, आमा समूहकी अध्यक्ष, चेलीबेटी प्रमुखजस्ता गरिमामय पदमा नियुक्त वा निर्वाचित भएकालाई चेलीबेटी प्रमुख लिना गुरुङ र अध्यक्ष कुमार गुरुङले दाजुभाइहरूलाई खादा र केक्री तथा चेलीबेटीहरूलाई खादा, पछ्यौरा र फूल प्रदान गरी सम्मान गरे । जसमा प्रवासी नेपाली आदिवासी जनजाती संघ बेलायतका नवनिर्वाचित अध्यक्ष प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङ, स्विन्डन गुरुङ समाज यूके नवनिर्वाचित अध्यक्ष तथा समाजका निवर्तमान अध्यक्ष क्या. पिताम्बर गुरुङ, चार भन्ज्याङ तमु समाज यूकेको नवनिर्वाचित अध्यक्ष दुर्गा गुरुङ, युनाइट दी युनियन लन्डनका नवनिर्वाचित अध्यक्ष अर्जुनकुमार गुरुङ, धम्पुस परिवार यूकेका नवनिर्वाचित अध्यक्ष धनबहादुर गुरुङ, गुरुङ (तमु) सोसाइटी केन्टका नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङ, साउथ इष्ट रिजनल तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष ज्वाइँ शिबरम गुरुङ बम, तमु लम (गुरुङ लामा थर) परिवार यूकेका नवनिर्वाचित अध्यक्ष ज्वाइँ रामचन्द्र गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो । साथसाथै, चेली शान्ति गुरुङका सुपुत्र डाक्टर प्रथम गुरुङ डाक्टर भएको उपलक्ष्यमा प्रमुख अतिथि नन्दकुमारी गुरुङबाट बधाई ज्ञापन गरिएको थियो ।

दाज्युभाइहरुलाई पाइपरको मिठो धुनसँगै हलमा स्वागत गर्दै सधैंको जस्तो गोलाकार रुपमा दाज्युभाइ, भाउजुबुहारीहरुलाई बसाउँदै सामूहिक भाइटीका लगाइएको थियो । प्रमुख अतिथि नन्दकुमारी गुरुङले टीका, अर्की ज्येष्ठ चेली लक्ष्मी गुरुङले माला तथा टोपी र चेलीबेटी प्रमुखले भाउजु बुहारीहरुलाई सल ओढाइ भाइटीका लगाइएको थियो । साथै दाज्युभाइहरुको तर्फबाट पनि दक्षिणा प्रदान गरिएको थियो ।
कार्यक्रममा चेलीबेटीहरु तारा, शान्ति, किना, अन्जु, माया र कविता गुरुङले तिहारको गीत र अन्य गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने तिहारको खेल झन्डी, बुर्जा अनि त्रिपासा पनि खेलाइएको थियो । चेलीबेटी महासचिव ध्रुव गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

