अल्डरसट। तुमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रम शनिबार, १८ अक्टोबरका दिन अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ ।

तमु धीं यूकेका सचिव विमल गुरुङ संयोजक गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी रहेका थिए । अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, प्रमुख अतिथि दुवाडी, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु प्येल्हु संघका अध्यक्ष क्या. रि. डेमबहादुर गुरुङले संयुक्त रूपमा दिपप्रज्जलन गरी कार्यक्रम सुरुवात गरिएको थियो ।

स्वास्थ्य र सुरक्षाबारे खेलकुद सचिव क्या. रि. दीपक घलेले जानकारी गराएका थिए । भाषा, कला र संस्कृतिको संरक्षणको मूल नारा लिएर सञ्चालित कार्यक्रममा तमुहरूको भेषभुषालाई राम्रोसँग नियाल्न सकिन्थ्यो। पाहुनाहरू बाहेक अधिकांश तमुहरू आफ्नै पोसाकमा उपस्थिति भएका थिए ।
कार्यक्रममा वेस्ट तमु पहिरनको अवार्ड पनि राखिएको थियो । टेकबहादुर गुरुङ र पार्वती गुरुङलाई निर्णायक मण्डलमा रहेका थिए । महिलातर्फ कमला गुरुङ र अप्सरा गुरुङ, पुरुषमा जोगरसन गुरुङ र दिक्पाल गुरुङ क्रमशः पहिलो र दोस्रो भए ।
मुख्य आकर्षण आदर्श तमु अवार्ड २०२५ विजेताहरूको घोषणा र सम्मान थियो। तमु धीं युकेमा सदस्यहरूले उल्लेखनीय काम गरेकाहरूलाई सन् २०१३ देखि हौसला प्रदानका लागि आदर्श तमु अवार्ड दिँदै आएको हो ।

२०१३ सालमा १ जना, २०१४ सालमा १ जना, २०१५ सालमा ३ जना, २०१६ सालमा ३ जना, २०१७ सालमा ४ जना, २०१८ सालमा ४ जना, २०१९ सालमा ५ जना, २०२० सालमा १ जना, २०२१ सालमा ५ जना, २०२२ सालमा ५ जना, २०२३ सालमा ५ जना २०२४ सालमा ५ जना सम्मानित भएका थिए ।
२०२५ मा अवार्ड पाउनेहरूमा शान्त तमुस्यो, सुमाल कुमार गुरुङ, क्या. देवबहादुर घले, श्रीप्रसाद तमु, धनकाजी तमु र ले. रि. मुक्तिजङ तमु रहेका छन् । अवार्डबाट सम्मानित व्यक्तित्वहरूको संक्षिप्त जीवनी विमल गुरुङ र हेलिसा गुरुङले पढेर सुनाएका थिए ।

उनीहरूलाई प्रमुख अतिथि दवाडी, अध्यक्ष गुरुङ, आमा समूहका अध्यक्ष कमला गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, नन्द गुरुङ, जयन्ती गुरुङ, दिलमाया गुरुङ, ले. कुसाङ गुरुङले क्रमशः फेटा, सलको पछ्यौरा, खादा, दोसल्ला, मायाको चिनो, ढाका पछ्यौरा र फूलको गुच्छाले सम्मान गरिएको थियो ।
नन्दकुमारी गुरुङ, नरजङ्ग गुरुङ, भक्तबहादुर गुरुङ, खेमसिङ गुरुङ र डेबिट अर्मिटेजलाई विशेष सम्मान गरिएको थियो ।
प्रमुख अतिथि दवाडीले तमु धीं यूकेको कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आफूले पाएको न्यानो स्वागत प्रति आयोजकलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै तमु धीं युकेलाई २५ वर्ष पहिले स्थापना गरेका अग्रजहरुको नाम लिदै प्रसन्न व्यक्त गरे ।

यो वर्ष मात्र ४० जना आजीवन सदस्य बनेको भन्दै उनले यसले संस्थाप्रतिको माया प्रगाढ रहेको बुझिने बताए । ‘हामीसँग चुनौतीहरू छन्। गोर्खा कप, नेपाली मेला जस्ता बृहत् कार्यक्रमहरू हाम्रो काँधमा छन् तर तपाईंहरुको साथ सहयोगले सधैँ सफल भइरहेको छ । कार्यसमिति र सम्पूर्णमा धेरै धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष गुरुङले भने ।
संयोजक विमल गुरुङले पनि रात्रीभोज कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद र पाहुनाहरूलाई स्वागत गरेका थिए । नेपालबाट आएकी गायिका प्रिया गुरुङको सुमधुर प्रस्तुति पनि रहेको थियो ।

कुमार गुरुङको बाँसुरी धुन, तमु धीं यूकेको स्वागत नृत्य, साउथ ईस्ट रिजनल ब्रान्चको नृत्य, ह्याम्पसायर र सरी ब्रान्चको नृत्य र वोकिङ ब्रान्चको नृत्य प्रस्तुतिले माहोल रमाइलो बनाएको थियो ।
आमा समूहले राफल ड्र सञ्चालन गरेका थिए । तमु धीं यूके र तमु कल्चर एकेडेमी नेपालबारे डकुमेन्ट्रीसमेत देखाइएको थियो । कार्यक्रम महासचिव डा. विशाल गुरुङ, विमल गुरुङ र हेलिसा गुरुङले सञ्चालन गरेका थिए ।

