लन्डन । सहारा यूकेको १४औं वार्षिक च्यारिटी डिनर नोभेम्बर २२ मा हुने भएको छ ।
सांगीतिक, सांस्कृतिक र सामाजिक कार्यक्रमसहित च्यारिटी डिनर नाइट शनिबार २२ नोभेम्बर २०२५ मा अल्डरसटको हाइ स्ट्रीटस्थित एम्पायर बैंक्वेटिङ हलमा आयोजना गरिने सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम बेलुकी ५ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा सहारा यूके अवार्ड तथा बधाई समारोहसमेत हुनेछ । समुदायमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरू र समूहहरूलाई सम्मान गरिने अध्यक्ष गुरुङले बताए । साथै, कार्यक्रममा स्वागत तथा धन्यवाद समारोह, विभिन्न आकर्षक पुरस्कारहरूसहितको राफल ड्र (लटरी) पनि रहनेछ ।
यस वर्षको डिनरमा नेपाल र स्थानीय समुदायका कलाकारहरूले प्रस्तुत गर्ने नृत्य र संगीत कार्यक्रमहरूमार्फत मनोरञ्जन प्रदान गरिनेछ।
कार्यक्रममा द भ्वाइस अफ नेपालकी चर्चित गायिका नीता पुनले लाइभ प्रस्तुति दिनेछिन् भने सयपत्री कल्चरल ग्रुपले विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको टिकट मूल्य ४० पाउन्ड रहेको छ । जसमा तीन परिकारको भोजन र सफ्ट ड्रिङ्क समावेश रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमबाट संकलित रकम सहारा यूकेका विभिन्न सामाजिक र दातव्य परियोजनाहरूमा खर्च गरिने उपाध्यक्ष तथा समन्वयक शारदा गुरुङले जानकारी दिए । अध्यक्ष र उपाध्यक्ष गुरुङद्वयले कार्यक्रमबारे थप जानकारी र टिकट खरिदका लागि आफूहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।