चालिसे र पचासेहरु मात्तिए
निकैको घरमा खटपट खटपट ।
न भात पाक्छ, न त पूजापाठ
छोपेको समाज, हुँदैछ विनास ।
विदेश आएको भयो बिसै वर्ष
कठिन थिए शुरुका दिनहरु ।
बोकेरै आयौं मिठो सपना
मिलेको थियो सबैको भावना ।
दुःखको कमाई राम्रै भयो
छोराछोरी ग्रेज्यूट भए ।
घर फेरि रित्तो भयो
फुर्सदिलो दिन आयो ।
च्याउँ जस्तै उम्रेका समाज
नेपाल भन्दा धेरै विदेशमा ।
केहि गरौं मनमा जाग्यो
समाज सेवा शुरु भयो ।
महिनै पिच्छे कलाकार आउँछन्
दुईचार जना भयोकि गाउँछन् ।
निम्नतम दश पाउण्ड लाउँछन्
पाउण्ड बोकी नेपाल जान्छन् ।
अत्ति भयो, सम्हालिन गाह्रो
कतिलाई स्वागत गर्ने ।
कतिलाई बिदाई
कलाकारको लहरैलहर ।
थाकेका छन् युकेबासी
कस्को भिषा कहिले लाग्यो ।
नपाएकाहरु भए खिन्न
आएकाहरु एक ट्रिपमै भिन्न ।
चल्दैछ, यस्तै हो सेवा
हिँडेपछि बाक्लो भेटघाट ।
कत्तिलाई राम्रो भयो
कत्तिको घर चर्कियो ।
समाज सेवा नाउँमा बुढा नेपालतिर मख्खै
यता काममा जोनसँग बुढी मख्खै ।
भयो चालिसे र पचासेको चट्याङ
आजभोलि त घरमा बोलीचालीनै बन्द ।
लोग्ने मान्छे मुर्खै हुन्छन्
हात लगाईहालेछ, भयो फसाद ।
छोराछोरी आमालाई ढाक्छन्
बाउँ एकरात कस्टडीमा जाक्छन् ।
सुनेको थिए, मिडलाईफ क्राइसेस
घुमीफिरी नेपालीको घरैमा ।
फुर्सदले मात्तिएपछि, भोग्नै पर्छ
रुखको पात शरद ऋतुमै झर्छ ।
राम्रालाई राम्रै हुन्छ
बिग्रेको धेरै कुरा हुन्छ ।
बिछोडमा धुरुधुरु रुन्छ
बिग्रेको समाल्ने को हुन्छ ।
अब मात्नु हुँदैन, बात गर्नुपर्छ
जे भयो माफ गर, नजिक सर ।
झिलीमिली भेटिहाल्यौं, भुलिदेऊ
जोडी चाहिने उमेर, मनबाटै बुझिदेउँ ।