लन्डन । बेलायतको ६ महिना लामो सांगीतिक भ्रमण समापन गर्दै गायिका पवित्र गुरुङ नेपाल फर्किएकी छन्। नेपाल फर्किने क्रममा मंलगबार उनलाई विमानस्थलमा आफन्तजन र शुभचिन्तकहरूले बिदाइ गरेका थिए ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, समाजसेवी राम गुरुङ र मिरा गुरुङ, रामेल गुरुङ, विमला मगर, तमु धीं यूकेका सल्लाहकारहरू ओमेन्द्र गुरुङ, कुमार गुरुङ, श्री गुरुङ, दिदी गरिमा गुरुङ, डाइमन्ड बुद्धिस्ट सेन्टर यूकेको उपाध्यक्ष मीना गुरुङलगायत आफन्त र शुभचिन्तकले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए ।

सो क्रममा पवित्रले बेलायतमा निमन्त्रणा गर्ने जीआरएनजी यूके तथा ६ महिनासम्म छोरी सम्झेर राख्ने राम र मिरा गुरुङसहित सम्पूर्ण आफन्तजन र शुभचिन्तक तथा संघसंस्थालाई धन्यवाद दिइन्।
पवित्र सन् २०२१ मा पहिलो पटक तमु धीं यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् । यसपटक ग्रेटर रश्मूर नेपाली कम्युनिटी जीआरएनसी यूकेको निमन्त्रणामा गत अप्रिल दोस्रो साता बेलायत आएकी हुन् ।
यसबीचमा उनले बेलायतमा रहँदा दर्जनौँ कार्यक्रममा प्रस्तुति दिएर दर्शक तथा श्रोताको मन मुटुमा बस्न सफल भइन् । तमु धीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्ट, तमु धीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा भएको नेपाली मेलालगायत विभिन्न गाउँले भेला तथा नम्बरी भेलाको कार्यक्रममा दर्शक नचाइन् ।

त्यसमा पनि सबैभन्दा विशेष भने गोर्खा मिडियाको आयोजनामा गत ३१ अगस्टमा भएको ‘A Musical Solo with पवित्र गुरुङ र DMT Band Charity Night’ भएको थियो । नेपालबाट बेलायत आएकी गायिकाको म्युजिकल सोलो गरेको उक्त नै पहिलो थियो ।
उक्त कार्यक्रमबाट पवित्रले बाल्यकालमा अध्ययन गरेको नुवाकोटको गोल्फु भन्ज्याङ माध्यमिक विद्यालयका लागि ९ लाख ५० हजारभन्दा बढी रकम जुटाइएको थियो । गोर्खा मिडियाले पाँचौँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानसमेत गरेको थियो ।