अल्डरसट । बेलायतको अल्डरसटस्थित शिव मन्दिरमा बडादशैँ २०८२ को अवसरमा फूलपाती विशेष समारोह सम्पन्न भएको छ । सोमबार धार्मिक उल्लासका साथ फूलपाती मनाइएको हो ।
परम्परा अनुसार स्थानीय बुद्ध गुम्बाबाट बिहानको शुभ साइतमा विशेष डोलीमा राखिएको फूलपाती मन्दिरमा भित्र्याइएको थियो । मन्दिरमा दशैँका नौ दिनसम्म दुर्गा स्थापना गरी बिहान बेलुकी विशेष पूजा, अर्चना र मन्त्र उच्चारण भइरहेको छ।
गत वर्ष जस्तो यस पटक नौमती बाजा बजाएर फूलपाती भित्र्याउन भने नेपालमा केही हप्ता अघि भएको दुःखद घटना तथा बेलायतको सामाजिक सद्भावलाई मध्यनजर गरी नगर्ने निर्णय गरिएको थियो ।

समारोहमा शिव मन्दिरका अध्यक्ष विक्रम भट्टराई, उनकी श्रीमती पवित्रा भट्टराई, प्रमुख संरक्षक वाचस्पति रेग्मी, महासचिव सुषमा गुरुङ, कोषाध्यक्ष किशोर गुरुङ, सचिव निरज शर्मा, सदस्य चन्द्र सुन्दास, रुपेश काफ्लेलगायत मन्दिरका मूल पुजारी मधुसूदन सत्याल र पण्डित राजकुमार धितालले शंखनाद गर्दै पूजा–अर्चना गरेर सहभागिता जनाएका थिए ।
गुम्बा पुगेको टोलीलाई बौद्ध गुम्बा (बीसीसी यूके) का मूल गुरु र गुरुहरू, अध्यक्ष आङदावा शेर्पा, निवर्तमान अध्यक्ष हर्क गुरुङ, आमा समूहकी अध्यक्ष जगना गुरुङ लगायतले भव्य स्वागत गरेका थिए । यस अवसरमा विशेष मन्त्र उच्चारण गर्दै फुल, प्रसाद र सगुन अर्पण गरिएको थियो ।

अध्यक्ष विक्रम भट्टराईले आफ्नो मन्तव्यमा ओमकार परिवारका दुई भिन्न समुदायलाई एउटै धागोमा बाँध्ने कडीको रूपमा सुरु गरिएको यो परम्परा नेपाली समुदायको साझा धरोहर भएको बताए । “हामी नेपालीहरू संसारको जुनसुकै कुनामा पुगे पनि परस्पर सम्मान, सहकार्य र सहअस्तित्वमा विश्वास गर्ने संस्कृतिका वाहक हौँ भन्ने प्रमाण यो परम्पराले दिएको छ,” उनले भने ।
त्यस अवसरमा अध्यक्ष भट्टराईले गुम्बा परिवारलाई बडादशैँको शुभकामना दिँदै निरन्तर सहकार्य र समर्थनका लागि धन्यवादसमेत व्यक्त गरे ।
