लन्डन । शान्ति नेपाली समाज बेलायतले विजया दशमी तथा शुभ दीपावलीका अवसरमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी १३ अक्टोबरका दिन न्यु ब्रिटानिया ईन, वेष्ट ब्रोम्विचमा कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम दिउँसो ४ बजे सुरु भई रातिसम्म चल्नेछ । सो अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्ने, नेपाली भाषा कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने, साथै संस्थाका दानवीर सहयोगीलाई परिचय गराउने तयारी छ ।
संस्थालाई स्वेच्छाले तन, मन र धनले सहयोग पुर्याएका स्वयंसेवकलाई समेत चिनाउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा खसीको भुटन, सेलरोटीलगायत मौलिक नेपाली परिकारको स्वाद लिन पाइनेछ । विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि हुनेछ । राष्ट्रिय कलाकार कृष्ण रेउलेको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
कार्यक्रममा समाजमा आबद्ध सबै सदस्य, संरक्षक, सल्लाहकार, शुभेच्छुक, अन्तर्राष्ट्रिय विद्यार्थी, नेपालबाट आएका अभिभावकलगायत नेपाली समुदायलाई उपस्थितका लागि अनुरोधसमेत गरिएको छ ।