अल्डरसट । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको निमन्त्रणामा नेपालबाट आएका तीन जना कलाकारको छुट्टाछुट्टै कार्यक्रमबीच भव्य बिदाइ गरिएको छ । गायिका पवित्र गुरुङ, दोहोरी गायक आरसी पौडेल तथा गायिका शर्मिला बीसीको बिदाइ गरिएको हो ।
अल्डरसटको दि लन्जमा गायिका पवित्र गुरुङको बिदाइ कार्यक्रम २१ सेप्टेम्बरमा सम्पन्न भएको थियो । प्रमुख अतिथि जीआरएनसीका अध्यक्ष लीला सेलिङ माबो र गायिका पवित्रले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै उक्त कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो ।
अध्यक्ष सेलिङले पवित्रलाई गायिका र नायिका मात्र नभई समाजसेवीको परिचयका साथ निरन्तर प्रगतिको शुभकामना गरिन् । अन्त्यमा जीआरएनसीका तर्फबाट खादा र मालासहित बिदाइ गरिएको थियो । पवित्रले यूके आउन सहयोग गर्ने जीआरएनसीप्रति आभार प्रकट गर्दै अध्यक्षलाई मायाको चिनो हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा जीआरएनसीका उपाध्यक्ष डा. विशाल गुरुङ, खेलकुद संयोजक विमल गुरुङ, सल्लाहकारहरू सूर्य गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, तामु धींका पूर्वअध्यक्ष नन्दाजंग गुरुङ, संस्थापक वरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, मिडिया संयोजक मिलन तमु तथा गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङको उपस्थिति रहेको थियो ।
यसैगरी, अर्का कलाकार दोहोरी गायक आरसी पौडेलको बिदाइ कार्यक्रम सुसी मोटोमा भएको थियो । कार्यक्रममा अध्यक्ष सेलिङ, उपाध्यक्ष डा. विशाल गुरुङ, खेलकुद संयोजक विमल गुरुङ, तमु फेर यूकेका पूर्वअध्यक्ष हितकाजी गुरुङ, सफल व्यवसायी पुरन गिरी, तामु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक वरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, प्रवक्ता नारायण गिरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।

त्यस्तै, गायिका शर्मिला बीसी र बर्मिंघमबाट आएका अतिथि गायक बलचन्द्र बराललाई समेत जीआरएनसीले बिदाइ गरेको छ ।
यस कार्यक्रममा पनि उपाध्यक्ष डा. विशाल गुरुङ, खेलकुद संयोजक विमल गुरुङ, सांस्कृतिक संयोजक दिनेश गुरुङ, समाजसेवी शेरबहादुर सुनार, व्यवसायी पुरन गिरी, प्रवक्ता नारायण गिरी लगायतको उपस्थिति थियो ।
तीनै जनाको बिदाइ कार्यक्रमलाई सार्थक बनाउन साथ र सहयोग गर्ने जीआरएनसी अध्यक्ष सेलिङले धन्यवाद तथा आभार व्यक्त गरेकी छन् ।