लन्डन । तमु धीं यूकेले गत महिना आयोजना गरेको १६औं नेपाली मेला ऐतिहासिक र सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा शनिबार तमु धीं भवन मिचेटमा बसेको समीक्षा बैठकले मेला ऐतिहासिक र सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको महासचिव विशाल गुरुङले जानकारी दिए । बैठकमा आगामी संस्करणहरु झन् बृहत र व्यवस्थित गर्नेतर्फ ध्यानकेन्द्रित गर्ने प्रतिबद्धता गरिएको छ ।
मेला गत २४ अगस्टमा लन्डनस्थित केम्पर्टन पार्क रेस कोर्समा आयोजना गरिएको थियो । हालसम्मकै व्यापक सहभागिता भएको मेलाले नेपाली संस्कृति, परम्परा र समुदायको एकताको सन्देशलाई बेलायतमा प्रवर्द्धन गरेको थियो । समीक्षा बैठकमा तमुधीं यूकेका उपाध्यक्ष तथा नेपाली मेला आयोजक समितिका संयोजक कमल गुरुङले १६औं नेपाली मेलाको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उनले सबैको सद्भाव, सहयोग र सहकार्यले मेला सफल भएको बताएका थिए ।
सोही अवसरमा मेलालाई सफलतापूर्वक संयोजन गरेकोमा उपाध्यक्ष कमल गुरुङलाई फेटा लगाएर सम्मान गरिएको थियो ।

तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले मेला भव्यताका साथ सम्पन्न गर्न अहोरात्र खटिने संयोजकसहित सिंगो आयोजक समिति, कार्यसमिति, सल्लाहकारलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । अहिले देखिएका केही ससाना कमीकमजोरी समेत आगामी संस्करणहरुमा हुन नदिने अठोट व्यक्त गरे । बैठक सञ्चालन महासचिव डा.विशाल गुरुङले गरेका थिए ।
यसैबीच, कार्यक्रमको दोस्रो चरणमा तमु धीं यूकेले हरेक वर्ष मनाउँदै आएको डा.हर्क गुरुङ-डा.चन्द्र गुरुङ स्मृति दिवस पनि मनाइयो । नेपालको सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका डा.चन्द्र र डा. हर्कप्रति सम्मान व्यक्त गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा अभिनेता सुरज तमुले डा. चन्द्र गुरुङ र डा.हर्क गुरुङको सम्मानमा कविता वाचन गरेका थिए। उनको भावपूर्ण र मार्मिक प्रस्तुतिले उपस्थित सबैलाई भावुक बनाएको थियो । कार्यक्रममा डा.हर्क गुरुङका आफन्त लोक गुरुङ र डा.चन्द्र गुरुङका सिक्लेसका गाउँले साथीहरू उपस्थित भएका थिए ।
हङकङबाट आएकी गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष माया गुरुङ र चलचित्र सुटिङको सिलसिलामा नेपालबाट बेलायत आएका थियटर अभिनेता सुरज तमुलाई पनि विशेष सम्मान गरिएको थियो । यस्तै गायिकाद्वय पवित्र गुरुङ र प्रिया गुरुङलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ र उपाध्यक्ष दिलमाया गुरुङ , आमा समूह प्रमुख कमलादेवी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ , पूर्वअध्यक्षहरु मेजर रिटायर्ड डमर घले एमबिई, ज्ञाम गुरुङ, हरि गुरुङ, ट्रष्टी सूर्य गुरुङलगायतको उपस्थिति थियो ।






