लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेकी गायिका पवित्र गुरुङको सम्मानमा विशेष बिदाई समारोह आगामी आइतबार २१ सेप्टेम्बरमा आयोजना हुने भएको छ ।
‘फेयरवेल नाइट टु पवित्र गुरुङ’ शीर्षकमा आयोजना हुने कार्यक्रम अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा हुनेछ । कार्यक्रम बेलुकी ५ बजेदेखि राति ११ बजेसम्म हुने आयोजकले जनाएका छन् ।
गायिका पवित्रलाई शुभयात्रा र सफलताको शुभकामना दिँदै रमाइलो वातावरणमा बिदाई गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सन् २०२१ मा पहिलो पटक तमु धीं यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् । यसपटक उनी ग्रेटर रश्मूर नेपाली कम्युनिटी यूकेको निमन्त्रणामा गत अप्रिल दोस्रो साता बेलायत आएकी हुन् ।

यसबीचमा उनले बेलायतमा रहँदा दर्जनौँ कार्यक्रममा प्रस्तुति दिएर दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भइन् । तमु धीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्ट, तमु धीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा भएको नेपाली मेलालगायत विभिन्न कार्यक्रममा दर्शन नचाइन् ।
त्यसमा पनि सबैभन्दा विषेश भने गोर्खा मिडियाको आयोजनामा गत ३१ अगस्टमा भएको ‘A Musical Solo with पवित्र गुरुङ र DMT Band Charity Night’ भएको थियो । नेपालबाट बेलायत आएकी गायिकाको म्युजिकल सोलो गरेको उक्त नै पहिलो थियो ।
उक्त कार्यक्रमबाट पवित्रले बाल्यकालमा अध्ययन गरेको नुवाकोटको गोल्फु भ्याङज्याङ माध्यमिक विद्यालयका लागि ९ लाख ५० हजारभन्दा बढी रकम जुटाइएको थियो । गोर्खा मिडियाले पाँचौँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानसमेत गरेको थियो ।