लन्डन । नेपालमा जेनजी युवाहरूले समानता र न्यायको पक्षमा सञ्चालन गरेको आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूप्रति तमु समाज यूकेले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
१३ सेप्टेम्बर बेलुका बारहम पार्क, वोम्बली लन्डनस्थित आफ्नै सामुदायिक भवनमा शोकसभा आयोजना गरिएको थियो ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरूप गत भदौ २३ गते जेनजीले काठमाडौँमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीमाथि सरकारले गोली चलाएको थियो । सो क्रममा जेनजी युवाले ज्यान गुमाएका थिए ।

‘युवा विद्यार्थीहरूले ज्यान गुमाउनुपरेको यो दुःखद घटनाप्रति हामी बेलायतवासी तमु समाज यूके परिवार गहिरो शोक व्यक्त गर्दछौँ,’ तमु समाज यूकेले भनेको छ, ‘वीरगति प्राप्त युवा भाइ बहिनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। आन्दोलनमा घाइते हुनुभएका सम्पूर्ण युवाहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौँ।’
श्रद्धाञ्जली तथा शोकसभामा उपस्थित संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, कार्य समितिका पदाधिकारी, सल्लाहकार, आमा समूहकी अध्यक्ष, आमा समूहका सदस्य र सम्पूर्ण उपस्थित महानुभावलाई तमु समाज यूकेले धन्यवाद व्यक्त गरेको छ ।
