लन्डन । काठमाडौँसहित देशभरि सेप्टेम्बर ८ र ९ मा भएको ‘जेनजी’ आन्दोलनपछिको अशान्तिपूर्ण अवस्थाप्रति बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा र त्यसपछि भएका आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले संघ स्तब्ध बनेको जनाएको छ।
संघद्वारा सेप्टेम्बर १० मा जारी विज्ञप्तिमा बालुवाटारस्थित एनआरएनए मुख्य सचिवालय र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीप्रति गहिरो दुःख व्यक्त गरिएको छ। “देशभर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, निजी सम्पत्तिमाथि आक्रमण गर्ने कार्यले विदेशमा रहेका नेपाली र लगानीकर्तामा निराशा फैलाएको छ,” विज्ञप्तिमा भनिएको छ। संघका अनुसार हालसम्म आन्दोलनका क्रममा ३० युवाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी घाइते भएका छन्। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
सरकारविहीन अवस्था अन्त्य गर्न आग्रह
गैरआवासीय नेपाली संघले देशमा उत्पन्न सरकारविहीन अवस्थाले गम्भीर चुनौती खडा गरेको बताउँदै यसको शीघ्र अन्त्यको माग गरेको छ। संघले शान्तिपूर्ण संवादमार्फत युवापुस्ताका जायज माग सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्न आग्रह गरेको छ । “संविधानप्रदत्त अधिकारको सम्मान गर्दै सबै पक्षलाई संयम र जिम्मेवार बन्नु आवश्यक छ,” संघको विज्ञप्तिमा भनिएको छ।
महाधिवेशन स्थगित
सामाजिक एवं राजनीतिक अस्थिरतिलाई ध्यानमा राख्दै संघले २०२५ अक्टोबर ११–१४ मा काठमाडौँमा हुने भनिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरेको छ। सम्मेलन आगामी ६ महिनाभित्र नयाँ मिति तय गरेर गरिने संघले जनाएको छ।
सबै गैरआवासीय नेपालीलाई एकताको आह्वान
संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई आपसी मतभेद भुलेर मातृभूमिप्रति उत्तरदायी भई सहकार्य र एकताका साथ अघि बढ्न आह्वान गरेको छ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यो संकटको घडीमा सबै गैरआवासीय नेपालीले सहकार्य गर्दै राष्ट्रको पुनर्निर्माणमा योगदान पुर्याउनु आवश्यक छ।”
