लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले नेपालका भ्रष्टाचारी नेताहरूलाई तत्काल देशबाट निष्कासन गर्न माग गरेको छ ।
नेपालका जेन जेड प्रदर्शनकारीहरूको निर्मम हत्या सन्दर्भमा ८ सेप्टेम्बर २०२५ मा विज्ञप्ति प्रकाशित गर्दै एनआरएनए यूकेले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि भइरहेको दमन तत्काल रोक्न,निर्दोष युवाहरूको हत्या प्रकरणको जिम्मेवारी नेपाल सरकारले पूर्ण रूपमा लिनुपर्ने, दोषीहरूलाई छिटो पहिचान गरी कानुनी दायरामा ल्याउन समेत माग गरेको छ ।
यस्तै घाइतेहरुको नि:शुल्क उपचार गर्न माग गर्दै राष्ट्रियस्तरमा न्याय नदिलाइएमा एनआरएनए यूकेले यो मुद्दा अन्तर्राष्ट्रिय मानवअधिकार निकाय तथा न्यायिक संस्थाहरूमा लैजाने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ ।
नेपालका जेन जेड सहिद (०८ सेप्टेम्बर २०२५) को आत्माले शान्ति पाओस् र उनीहरूको साहसले पुस्तौँलाई प्रेरणा दिने भन्दै एनआरएएन यूकेले उनीहरूको बलिदानले भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने सामूहिक संकल्पलाई अझ सबल बनाउने विश्वास व्यक्त गरिएको छ । उसले काठमाडौं तथा नेपालका अन्य शहरहरूमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि नेपाल सरकारद्वारा गरिएको निर्मम र अमानवीय कार्यहरूको घोर भर्त्सनासमेत गरेको छ ।
'०८ सेप्टेम्बर २०२५ का दिन जुझारु विद्यार्थीहरू, जसले नेपालको जेन जेड (Gen Z) पुस्ताको प्रतिनिधित्व गरेका थिए, भ्रष्टाचार विरोधी शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा निर्दयतापूर्वक हत्या गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'न्याय, पारदर्शिता र नेपाली जनताको अधिकारका पक्षमा आवाज उठाउने यी साहसी युवाहरू अहिले भ्रष्टाचार विरोधी आन्दोलनका सहिद बन्न पुगेका छन् । एनआरएनए यूकेको तर्फबाट हामी गहिरो समवेदना र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनप्रति हामी पूर्ण सहानुभूति प्रकट गर्दछौं। यी वीर युवाको बलिदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै हामी उनीहरूलाई नेपालका जेन जेड सहिद (०८ सेप्टेम्बर २०२५) घोषणा गर्दछौं।'
अन्तर्राष्ट्रिय प्रवासी नेपाली समुदायको प्रतिनिधि संस्थाको हैसियतले एनआरएनए यूकेले जेन जेडको भ्रष्टाचारविरोधी आन्दोलनसँग दृढ ऐक्यबद्धता प्रकट गरेको छ ।
