लन्डन । बेलायत भ्रमणमा रहेका उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङलाई तामाङ घेदुङ यूकेले सम्मान गरेको छ ।
सोमबार लन्डनको फेल्थाम कम्युनिटी हलमा घेदुङका अध्यक्ष हरिसिंङ वाइबाको सभापतित्वमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रमसहित घिसिङलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि घिसिङले तामाङ समुदायले सबै संगठनलाई एउटै संस्थामा एकीकृत गरी देखाएको उदाहरणीय एकता प्रशंसनीय रहेको बताए ।
विशेष अतिथिद्वय थाउजेन्ड बुद्ध यूकेका अध्यक्ष अवकाशप्राप्त मेजर समुद्र गुरुङ र गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले पनि तामाङ घेदुङ यूकेले देखाएको एकता सम्पूर्ण समुदायका लागि अनुकरणीय भएको बताएका थिए ।
त्यसैगरी, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष तथा तामाङ घेदुङ यूकेका केन्द्रीय सल्लाहकार धन पाख्रिनले पनि ऐक्यबद्धतासाथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
दावा स्याङ्बोले संयोजन गरेको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कुमार स्याङ्तानले स्वागत मन्तव्य र सचिव विशाल स्याङ्बो तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । सांस्कृतिक प्रस्तुतिहरूमा कुमार योञ्जन, दिलीप तामाङ, कुसुम तामाङ, निशिम तामाङ, प्रबिता तामाङ, कोपिला लामा, कन्यामाया तामाङ, सिम्रन पाण्डे, फ्रीजिना तामाङ, ललिता लामा र कृष्णा राईलगायतका कलाकारले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । प्रमुख अतिथि घिसिङकै हातबाट कलाकारहरुलाई खादा र प्रशंसापत्र प्रदान गरिएको थियो ।

घिसिङ तमुधीं यूकेको निमन्त्रणामा ११ अगस्टमा बेलायतमा आएका हुन् । उनी २४ अगस्टमा तमुधीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा भएको १६ औं नेपाल मेलामा विशेष अतिथिका रुपमा उपस्थित थिए । बेलायतमा थुप्रै नेपाली संघ संस्था र व्यक्तिहरुसँग घिसिङले भेटघाट जारी राखेका छन् । नेपालमा बत्तिको मात्रै नभइ समग्र उज्यालो ल्याउनुपर्छ भन्ने अभियानसहित घिसिङ युरोप र खाडी मुलुकहरुको भ्रमणमा छन् । उनी अमेरिकाबाट सिधै बेलायतका आएका हुन् ।
