लन्डन । बारपाकी समाज यूकेको २०औँ वार्षिक भेटघाट सम्पन्न भएको छ । संस्था स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा यस वर्षको कार्यक्रम विशेष र भव्य बनेको छ ।
२३ अगस्ट, शनिबारका दिन सामुएल कोडी स्कुल, फार्नबोरोमा अध्यक्ष कुलबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको हो ।
ज्येष्ठ नागरिक रशबहादुर घले र श्रीमती शुकराम गुरुङले संयुक्त रूपमा केक काटेर भव्य रूपमा मनाइएको लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक धन घलेले बताए ।
कार्यक्रममा सुनको उपहारसहित भाग्य चिट्ठा कार्यक्रम पनि गरिएको थियो । विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो । फिल्म निर्माता दिल घले, रचनाकार कुल घले, कंफु खेलकी स्वर्णपदक विजेता सरिना घले र चर्चित गायिका मेमिसा घले सम्मानित भए । संरक्षक धन घलेले ‘लिःल फङ’ लेखिएको खादाले उनीहरूलाई सम्मान गरेका थिए ।
गोर्खाको उत्तरी भेगका बारपाकलगायत घले भाषा बोल्ने समुदायका मानिसलाई समेटेर बनेको यो संस्थाको स्थापना सन् २००५ मा भएको हो । कार्यक्रममा बेलायतभरिबाट आएका बारपाकी समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यही अवसरमा सगरमाथा आरोहण गर्ने नरेन्द्र घलेको शालिक बनाउन तिर्थराज घलेलाई आर्थिक सहयोग पनि हस्तान्तरण गरिएको थियो । भेलामा संस्थाको आगामी कार्य योजना पनि सार्वजनिक गरिएको थियो ।
जसमा भीसी गजे घलेको जीवनीमा आधारित चलचित्र निर्माण गर्ने, जीसीएसई तथा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र बेलायतस्थित गोर्खा नेपाली समुदायको नागरिकता निरन्तरताबारे जानकारी दिने विषय समावेश थिए।
कार्यक्रम महासचिव पृतिलाल घलेले सञ्चालन गरेका थिए। यस उत्सवले बेलायतमा रहेका बारपाकी समुदायबीच एकता, संस्कृति र परम्परा जोगाउन ठूलो योगदान पुर्याएको बताउँदै अध्यक्षले सबैलाई धन्यवाद दिएका थिए ।