लन्डन । इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रम नेपाली टोलीको बेलायत भ्रमणका क्रममा २०२५ अगस्ट २४ देखि २६ सम्म आयोजना गरिएको थियो ।
खेलले अशक्तता भएका महिला खेलाडीहरूलाई आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र टोली भावना प्रदर्शन गर्ने अवसर दिन्छ । खेलको उद्देश्य सबैलाई बराबरी अवसर दिलाउनु, खेलकुदको आनन्द लिन सक्ने वातावरण बनाउनु र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न प्रेरित गर्नु हो । सीपी फुटबल भनेको अशक्तता भएका महिलाहरूलाई पनि फुटबल खेल्न र प्रतियोगितामा भाग लिन सक्ने अवसर दिने समावेशी खेल हो ।
नेपालले इन्टरनेसनल फेडेरेसन अफ सेरेब्रल पाल्सी फुटबलको आयोजनामा अगस्ट १७ देखि २३ सम्म बेलायतको मिडल्यान्डस्थित लबरोमा भएको महिला इन्टरकन्टिनेन्टल कपमा सहभागिता जनाएको थियो । नेपाली टोलीमा चार सेरेब्रल पाल्सी भएका खेलाडी, एक प्रशिक्षक र एक अफिसियल गरी ६ जना सदस्य थिए । टोलीमा प्रशिक्षक सदिक्षा मल्ल र अफिसियल सबिना पराजुलीका साथै खेलाडीहरू रेवती कार्की, निरमाया मगर, रेणु भोलान र मुना श्रेष्ठ समावेश थिए ।
खेल समापनपछि तमु समाज यूकेको प्रायोजनमा टोलीलाई दुई दिन लन्डनमा होटेल बसाइ र भ्रमणको व्यवस्था मिलाइएको थियो । टोली अगस्ट २४ मा लन्डन पुगेको थियो भने सम्पूर्ण बसाइ तथा यात्राको खर्च तमु समाज यूकेले नै व्यहोरेको थियो ।
अगस्ट २५ मा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा सदस्य सुबिना घलेले टोलीलाई लन्डनका प्रमुख स्थलहरूको भ्रमण गराए । यस क्रममा उनीहरूले थेम्स नदीमा क्रुज यात्राको पनि आनन्द लिएका थिए । उक्त साँझ समाजको सामुदायिक भवनमा भव्य स्वागत समारोह आयोजना गरियो ।
कार्यक्रममा कार्यकारी समिति, महासचिव सुब घले, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ र शिवचन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ, सल्लाहकार तथा युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङसहित अन्य सदस्यहरूको उपस्थिति थियो ।
दिनभरको यात्राले थकित खेलाडीहरूले सुरुमा स्वादिष्ट नेपाली खानाको आनन्द लिएपछि औपचारिक कार्यक्रम सुरु भएको थियो । समारोहमा अध्यक्ष बिन्दु घलेले टिम म्यानेजर सदिक्षा मल्लसहित सम्पूर्ण टोलीको परिचय गराइन् । त्यसपछि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु समाज यूकेको परोपकारी कार्य र उद्देश्यबारे संक्षिप्त जानकारी प्रस्तुत गरे । त्यसपछि अध्यक्ष र संस्थापक अध्यक्षले टोलीलाई खादा पहिराई स्वागत गरे ।
समारोहमा तमु समाज यूकेले टोलीका प्रत्येक सदस्यलाई खादा, लोगो अंकित प्लेक र व्यक्तिगत उपहार प्रदान गर्दै औपचारिक सम्मान गर्यो ।
टिम म्यानेजर सदिक्षा मल्लले भावुक हुँदै भनिन् – 'प्रतियोगितामा भाग लिन तयारी गर्दादेखि नै हामीले विभिन्न किसिमका कठिनाइ ब्येहोर्नु परेको र विकसित देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नु हाम्रो लागि ठूलो चुनौती थियो । तर पहिलो पटक नेपाली सीपी फुटबल टोलीलाई युरोपमा चिनाउने अवसर पाउनु गर्वको कुरा हो । हाम्रो टोलीले अनुशासित ढंगले खेल प्रदर्शन गरी सबैको मन जितेको छ ।'
उनले थपिन् – 'बेलायतमा नेपाली समाज, विशेषगरी तमु समाज यूकेबाट पाएको सहयोग, स्वागत र सम्मानले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ । अध्यक्ष बिन्दु घलेले निरन्तर अभिभावकको भूमिका निर्वाह गर्दै हामीलाई हौसला दिनुभयो । उहाँको नेतृत्वमा समाजका सबै सदस्यहरूले साथ र सहयोग गर्नुभएकोमा हामी हृदयदेखि आभारी छौं । यो सम्मान हाम्रो टोलीका लागि पहिलो अनुभव हो, जसले हामीलाई गहिरो रूपमा भावुक बनाएको छ ।'
समारोहको अन्त्यमा टोलीको तर्फबाट तमु समाज यूकेकी अध्यक्षलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मन्तव्य दिँदै अध्यक्ष बिन्दु घलेले भनिन् – 'नेपाली फुटबल टोलीलाई सहयोग र सम्मान गर्न पाउनु हाम्रो मात्र नभई सम्पूर्ण समाजको गर्वको विषय हो ।' उनले आगामी दिनहरूमा पनि यस्तै सहयोग र एकताका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थि सबैजनालाई धन्यवाद दिँदै औपचारिक रुपमा कार्यक्रम समापनको घोषणा गरिन् ।
कार्यक्रम साँझ ७ बजे सुरू भई राति १० बजे सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम महासचिव सुब घलेले सञ्चालन गरेका थिए । कार्यक्रमपश्चात् शिवकुमार गुरुङ र धर्मबल गुरुङले टोलीलाई होटेलसम्म पुर्याए । अगस्ट २६ मा अध्यक्ष बिन्दु घले, सुबिना घले, गंगाबहादुर गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले टोलीलाई हिथ्रो विमानस्थलसम्म पुगेर बिदाइ गरेका थिए ।