लन्डन । तमु समाज युकेले आइतबार केम्पटोन पार्क रेस कोर्समा भएको १६औँ नेपाली मेलामा आकर्षक झाँकी प्रस्तुत गरेको छ ।
तमुधीं यूकेको आयोजना र नेपाली राजदूतावास लन्डनको सहकार्यमा २४अगस्ट २०२५ मा भएको मेलामा तमु समाज यूकेले गत वर्षहरुमा झैँ झाँकी प्रस्तुत गरेको हो । झाँकीमा अध्यक्ष विन्दुकुमारी घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ र शिवचन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष बिमला गुरुङ, पूर्वअध्यक्ष माया गुरुङ, साथै समाजका सल्लाहकारहरु, कार्यसमिति सदस्य र आजीवन सदस्यहरूको सक्रियतामा भएको थियो ।
यस वर्षको झाँकीमा तमु समाजले 'जहाँ भए पनि हाम्रो मन सधैं मातृभूमिसँग जोडिएको हुन्छ' भन्ने नारासहित सहभागिता जनायो । परदेशमा रहेर पनि मौलिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउने उद्देश्यले गुरुङ परम्परागत पोसाकमा सजिएका उनीहरूले राष्ट्रिय गीत 'यो नेपाली शिर उचालि संसारमा लम्किन्छ, जुन्केरी झैँ ज्योति बालि अन्धकारमा चम्किन्छ' (रचना: भूपी शेरचन, संगीत: नातीकाजी, स्वर: प्रेमध्वज प्रधान र तारा देवी) गुन्जाउँदै आकर्षक मार्चपास प्रस्तुत गरेका थिए ।

झाँकीमार्फत समाजले 'नेपाली मेलामा सहभागी बनौं, आफ्नो संस्कार–संस्कृतिलाई विदेशमा पनि जोगाऔं र भावी पुस्तासम्म हस्तान्तरण गरौं' भन्ने सन्देश पनि दिएको थियो । उक्त अवसरमा सदस्यहरूले सामूहिक रूपमा एकताको प्रदर्शन गर्दै मौलिक कला–संस्कृतिको धरोहरलाई उजागर गरेका थिए ।
कार्यक्रमको नेतृत्व समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले गरेकी थिइन् । व्यवस्थापनमा उपाध्यक्ष भिमबहादुर गुरुङ, मिरा गुरुङ, महासचिव सुब घले, कार्यसमितिका सदस्य बुद्धिबहादुर गुरुङ, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ ,आमा समूहकी अध्यक्ष बिमला गुरुङसहित आमा समूहका दिदीबहिनीहरूको विशेष योगदान थियो । खाजा तथा पेय पदार्थको व्यवस्थापनमा पनि आमा समूहको भूमिका प्रमुख रहेको तमु समाज यूकेले जनाएको छ ।








