लन्डन । बेलायतको केम्पटन पार्क रेस कोर्समा आज (२४ अगस्ट)मा १६औँ नेपाली मेला हुँदैछ । तमुधीं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा मेला आयोजना गर्न लागेको हो । मञ्च, मेलास्थलमा तयारी लगभग सकिएको उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले जानकारी दिएका छन् ।
मेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहने छन् ।
मेलामा ३५ भन्दाबढी संघसंस्थाका झाँकी, १५ भन्दाबढी सांस्कृतिक प्रस्तुति, ७० वटा स्टल मेलाका आकर्षणका रूपमा रहने संस्थाका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । ५१ हजार पाउन्ड खर्च हुने अनुमान गरिएको मेलामा विभिन्न जातजाति र संघसंस्थाको झाँकी, सांस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा तथा परिकार राखिनेछ ।

मेलामा बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट समेत विभिन्न व्यक्तित्वहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।
संस्थाका अध्यक्ष गुरुङले कला, संस्कृति, रहनसहन, भेषभूषा जगेर्नाको उद्देश्यले मेला आयोजना गरिँदै आएको बताए । मेला तमुधीं यूकेको मात्र नभई समस्त नेपाली समुदायको भएकाले सहभागी भएर सफल बनाइदिन उनले अपिलसमेत गरे ।
