लन्डन । तमु धीं लन्डन इकाइ आमा समूहले हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज भव्य रूपमा मनाएको छ । शनिबार १६ अगस्टमा विशेष समारोह आयोजना गरी तीज पर्व मनाइएको हो ।
प्रमुख अतिथि तमु धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, तमु धीं लन्डन इकाइ आमा समूहकी अध्यक्ष देवकला गुरुङ, तमु धीं लन्डन इकाइकी प्रथम महिला सिर्जना गुरुङ, कोअर्डिनेटर गुड्डु गुरुङ र वरिष्ठ सल्लाहकार युवा गुरुङले बत्ती बालेका थिए ।

इकाइ आमा समूहकी अध्यक्ष देवकला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य र सुरक्षाबारे दुर्गा गुरुङले जानकारी गराएकी थिइन् । स्वागत मन्तव्य विनु गुरुङले राखेकी थिइन् भने औपचारिक कार्यक्रम हेलिसा गुरुङ सञ्चालन गरेकी थिइन् ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, महासचिव शान्ता गुरुङ, कोषाध्यक्ष कोमल गुरुङ, पूर्वअध्यक्ष मन्जु गुरुङ कार्यक्रममा सहभागी थिए ।
तमु धीं अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि, इकाइका अध्यक्ष भरत गुरुङ, अध्यक्ष देवकला गुरुङले शुभकामना मन्तव्य राखेका थिए । कोअर्डिनेटर गुड्डु गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालबाट आएकी कलाकार जुनु श्रीस मगर रहेकी थिइन् । उनले आफ्नो प्रस्तुतिले सबैलाई नचाएकी थिइन् । राफल ड्र पनि रमाइलो गरी सम्पन्न भएको थियो । जय श्रीकृष्ण र आस्मी ज्वेलर्सले प्रथम र द्वितीय पुरस्कार प्रायोजन गरेका थिए । दुर्गा गुरुङले राफल ड्र कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
खानाको व्यवस्थापन गोर्खा दरबारले थियो । फोटोग्राफीमा टेकबहादुर थापा मगर र जोन घोताने थिए । डिजेमा चौतारी म्युजिकका डिजे सुशील गुरुङले साथ दिए । कार्यक्रममा २२० देखि २५० जनाको उपस्थिति रहेको थियो ।
बेलायतमा रहे पनि हरितालिका तीजको पौराणिक सम्बन्ध, संस्कार तथा परम्परालाई पछ्याउँदै आइरहेको तमु धीं लन्डन इकाइ आमा समूहले हरेक वर्ष तीज पर्व मनाउँदै आएको छ ।
