लन्डन । बेलायतमा एसियन महिला एसोसिएसन (आमा)ले तीज पर्व भव्य रुपमा मनाएको छ । १७ अगस्टमा अल्डरसटस्थित एम्पायर हलमा 'आमा तीज पाटी'को नाममा कार्यक्रम आयोजना गरिएको हो । आमाकी अध्यक्ष कल्पना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, राफल ड्र लगायत आकर्षण थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दुर्गा पुनले दिएकी थिइन् भने कार्यक्रम संचालन प्रमिला लाबुङ राईले गरेकी थिइन् । प्रमुख अतिथि लुइस आसबरी थिइन् भने विशेष अतिथिहरुमा नेपालबाट आएकी चर्चित गायिका कोमल ओली, गोर्खा मेजर्नी गोमा श्रीस र गोर्खा मेजर्नी विष्णु माया तामाङ थिए ।
कार्यक्रममा डान्सर आरुषी मगर, संगीता गैरे र ललिता गुरुङले आआफ्नो कला प्रस्तुत गरेका थिए भने गायिका कोमल वलीले चर्चित गीत गाएर दर्शकलाई नचाएकी थिइन् ।

सोही कार्यक्रमको अवसरमा आमाले सदाझैं यस वर्ष पनि फ्लोरमा नृत्य प्रतियोगिता गरेको थियो । उत्कृष्ट नृत्यमा हजुर आमा समूहमा माइली गुरुङ, आमा समूहमा निरु पौडेल कँडेल, छोरी समूहमा उषा लिम्बु र नातिनी समुहमा दियाँची विश्वकर्मा बन्न सफल बनेका थिए ।
कार्यक्रमको अर्को आकर्षण राफल ड्र थियो । पोतेसहित छड्के तिलहरी १ तोला सुन सपना थापाले जितेकी थिइन् । उक्त पुरस्कार नविन एन्ड नविन ज्वेलर्सले प्रायोजन गरेको थियो ।
दोस्रो पुरस्कार आधा तोला सुन देवी पुनले जितेकी थिइन् । दोस्रो पुरस्कार मम्स गोर्खा मोर्गेजले प्रायोजना गरेको थियो । अनुग्रह ज्वेलर्सले प्रायोजन गरेको तेस्रो पुरस्कार मिनीहार यमुना थापामगरले जितिन् भने दीप ज्वेलर्सले प्रायोजन गरेको चौथो पुरस्कार शिरफूल लीना गुरुङले हात पारिन् ।

लामा ज्वेलरीले प्रायोजन गरेको पाँचौं पुरस्कार लालीगुराँस क्लिप दिलमाया गुरुङले जितिन् भने छैटौं पुरस्कार खुकुरी किलिप मनीकला राई गुरुङले जितिन् भने उक्त पुरस्कार पद्माश्री ज्वेलरिजले प्रायोजना गरेको थियो ।
राफलको टिकट बिक्रीबाट जम्मा भएको पैसा कोमल वली फाउन्डेसन र क्यान्सरको उपचाररत डान्सर आरुषी मगरकी आमालाई सोहि दिनमा हस्तान्तरण गरिएको आमाकी अध्यक्ष कल्पना गुरुङले जानकारी दिइन् । उनले सुन र नगद अहिलेसम्मकै धेरै प्रायोजन प्राप्त भएको बताइन् ।
उक्त कार्यक्रममा दिदीबहिनीको सुविधाका लागि सुलोचना गुरुङले ज्वेलरीको स्टल, दुर्गा डि कलेक्सनले कपडाको स्टल र मम्स तथा गोर्खा मोर्गेजले मोर्गेज स्टल राखेका थिए । कार्यक्रममा करिब ५ सय जना महिलाको सहभागिता रहेको थियो ।
उपस्थित दर्शकले अहिलेसम्मकै धेरै सहभागिता, धेरै पुरुस्कार प्रयोजन, सुन्दर सजावट, ३६० फ्लोर लाइट, स्वादिष्ट खानपिन र सुबिदाजनक तथा आकर्षक स्टलहरुको ब्यबस्थापनले गर्दा कार्यक्रम भब्य बनेको र विगतका वर्षहरुमा भन्दा धेरै रमाइलो भएको प्रतिक्रिया जनाएका थिए ।
