लन्डन । धम्पुस परिवार यूकेको १७औं वार्षिक गाउँले भेटघाट कार्यक्रम शनिबार, १६ अगस्ट २०२५ का दिन अल्डरसटस्थित एम्पायर हलमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
दिनको १२ बजेबाट बेलुकी १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा यूके भरि रहेका धम्पुसे दाजुभाइ, चेलीबेटी, ज्वाइँ र भान्जाभान्जीहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रम समाजका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भयो भने महासचिव गोलमान गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी दिँदै औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।
त्यसपछि संस्थापक अध्यक्ष एवं संरक्षक क्याप्टेन (रिटायर्ड) देवबहादुर गुरुङ र अध्यक्ष कुमार गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरे ।

नेपालको राष्ट्रिय गीत सानो बालक ऐजन गुरुङले भावनात्मक रूपमा प्रस्तुत गरी सबैलाई भावविह्वल बनाएका थिए ।
प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक धनबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका मुख्य आकर्षण चर्चित लोक गायिका पवित्र गुरुङको सुमधुर प्रस्तुति र नृत्य कलाकार आरुसी मगरको आकर्षक नृत्य रहेको थियो ।

फोटोसेसनका लागि राखिएको तुरुन्त फोटोप्रिन्ट हुने फोटो बुथले कार्यक्रमहललाई अझ आकर्षक बनाएको थियो ।
यस वर्ष विभिन्न विश्वविद्यालयबाट स्नातक तथा उच्च शैक्षिक उपाधि हासिल गर्न सफल मिस शारोन गुरुङ, मिस स्मारिका गुरुङ, डा. करिना गुरुङ, डा. दिलीप गुरुङ र डा. जीवन गुरुङलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
त्यस्तै, सचिव रवि गुरुङको इन्जिनियर पदबाट प्राविधिक परियोजना प्रबन्धक पदमा पदोन्नति भएको अवसरमा संस्थाको तर्फबाट विशेष सम्मान प्रदान गरियो । कार्यक्रम सफल बनाउन योगदान दिने सबै प्रायोजक तथा सहयोगी चेलीबेटी र दाजुभाइलाई खादा अर्पण गरी सम्मान गरियो ।

नयाँ कार्यसमितिलाई खादा र गलबन्दीसहित हार्दिक बधाई र पुरानो कार्यसमितिलाई धन्यवाद व्यक्त गरियो । चेलीबेटीहरूको तर्फबाट पनि नयाँ कार्यसमितिलाई विशेष रूपमा बधाई व्यक्त गरिएको थियो ।
सांस्कृतिक सत्रमा पवित्र गुरुङ र आरुसी मगरको प्रस्तुतिले पूरै हललाई झुमायो । त्यस्तै, धम्पुसे चेली तारा गुरुङ र धम्पुसे कुलपुत्र जितमान गुरुङले प्रस्तुत गरेका आकर्षक नृत्यहरूले कार्यक्रममा अझ रौनकता थपिदिएको थियो ।

नेपालबाट बेलायत भ्रमणमा रहनुभएका चेलीबेटी तथा ज्वाइँहरूलाई खादा अर्पण गरी सम्मानपूर्वक स्वागत गरियो । त्यसैगरी बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेकी आमा समूह अध्यक्ष जगन कुमारी गुरुङ र मार्दी खोला समाज यूकेकी आमा समूह अध्यक्ष ध्रुव गुरुङलाई पनि खादा अर्पण गरी बधाई र शुभकामनासहित सम्मान गरियो ।
गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ र घोण्डे गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङलाई पनि खादा अर्पण गरी शुभकामना प्रदान गरियो । गोरखा मिडियाका प्रबन्ध निर्देशक मिलन तामु र कोन्मे इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष कोंनेलाई पनि खादा अर्पण गरी सम्मान गरिएको थियो ।

राफल ड्र कार्यक्रममा पहिलो भाग्यशाली विजेता ललिता गुरुङसहित अन्य विजेताहरूलाई रामबहादुर गुरुङ, गुप्तबहादुर गुरुङ र देवबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।
नयाँ अध्यक्ष धनबहादुर गुरुङले मन्तव्य राख्दै धम्पुसे एकता माथि जोड दिँदै सम्पूर्ण सहभागीहरूलाई आफ्नो अमूल्य समय, साथ र सहयोगका लागि गहिरो धन्यवाद व्यक्त गरे । साथै आगामी दिनहरूमा पनि यस्तै सहभागिता, समर्थन र एकता जारी रहोस् भन्ने अपिलसमेत गरेका थिए ।

अन्त्यमा अध्यक्ष कुमार गुरुङले समापन मन्तव्य राख्दै सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे । त्यसपछि उपस्थित सबैले खुसीपूर्ण वातावरणमा नाचगान र शुभकामना आदान–प्रदान गर्दै कार्यक्रमलाई अझ उल्लासमय र अविस्मरणीय बनाएर छुटेका थिए ।