लन्डन । बेलायतको केम्पटन पार्क रेस कोर्समा २४ अगस्टमा हुने १६औँ नेपाली मेलाको तयारी पूरा भएको छ । तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागेको मेलाको तयारी पूरा भएको हो ।
मेलाको तयारीबारे आइतबार तमु धीं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
मेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहने छन् ।

संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरूको परिचय दिएका थिए ।
उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले मेलामा ३५ भन्दाबढी संघसंस्थाका झाँकी, १५ भन्दाबढी सांस्कृतिक प्रस्तुति, ७० वटा स्टल मेलाका आकर्षणका रूपमा रहने बताए । ५१ हजार पाउन्ड खर्च हुने अनुमान गरिएको मेलामा विभिन्न जातजाति र संघसंस्थाको झाँकी, सांस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा तथा परिकार राखिनेछ ।

मेलामा बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट समेत विभिन्न व्यक्तित्वहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।
संस्थाका अध्यक्ष गुरुङले कला, संस्कृति, रहनसहन, भेषभूषा जगेर्नाको उद्देश्यले मेला आयोजना गरिँदै आएको बताए । मेला तमु धीं यूकेको मात्र नभई समस्त नेपाली समुदायको भएकाले सहभागी भएर सफल बनाइदिन उनले अपिलसमेत गरे । सो अवसरमा नेपाली मेलाका लागि नेपालबाट आएका अतिथिहरूलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरू मेजर रिटायर्ड डमर घले, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ र हरि गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ र महासचिव शान्ता गुरुङ, ट्रस्टी सूर्य गुरुङलगायत उपस्थित थिए ।
