लन्डन । पवित्र गुरुङ “द भ्वाइस अफ नेपाल सिजन ४” का उत्कृष्ट प्रतिभामध्ये एक हुन्, जसले दर्शक र श्रोताहरूको मन जित्न सफल भएकी छिन् ।
सन् १९९९ मा नुवाकोट जिल्ला, गोल्फु भ्याङज्याङ, दुप्चेश्वर-४ मा पिता रत्नबहादुर गुरुङ र आमा गोपिनी गुरुङको कोखबाट जन्मिएकी पवित्र हाल परिवारसहित काठमाडौँमा बसोबास गर्दै आएकी छिन् ।
सानैदेखि गायनमा रुचि राख्ने उनले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै गोल्फु भ्याङज्याङ निम्न माध्यमिक विद्यालयबाट सुरु गरेकी थिइन् ।
उच्च शिक्षाका लागि काठमाडौँ प्रवेश गरेकी पवित्रले लुम्बिनी एकेडेमिक कलेजबाट प्लस टु र कैलाशकुट मल्टिपल क्याम्पसबाट स्नातक (बीए) अध्ययन पूरा गरिसकेकी छिन् ।
पढाइसँगै गायनमा सक्रिय उनले कलेज जीवनमै लुम्बिनी सिङ्गिङ स्टार मा दुई पटक फस्ट रनर अप बन्ने र मिस लुम्बिनी ट्यालेन्ट शो जित्ने सफलता हात पारेकी थिइन् ।
संगीतमा गहिरो लगाव भएकी उनीलाई दिदी गरीमा गुरुङको प्रेरणामा गान्धर्व संगीत विद्यालयमा भर्ना गरिएकी थिइन् । जहाँ उनले गुरु चन्दनकुमार श्रेष्ठबाट शास्त्रीय संगीतको विधिवत् शिक्षा लिइरहेकी छिन् । हाल उनले आठ वर्षे कोर्सअन्तर्गत सात वर्षको संगीत यात्रा पूरा गरिसकेकी छिन् ।
पवित्रको विश्वास छ, “संगीत सिकेर गाएको गीत मात्र टिकाउ हुन्छ।”

लगनशील र परिश्रमी पवित्रले गायनको यात्रा मा “लैं सारा मुनसम्म”, “मारै ट झलल”, “रोधी घर (कौडा)”, “दिलसुबा”, “संगै जुनी काटौंला”, “च्याङ्बा” , "तो तै ङोल्सो" र “समय” लगायतका लोकप्रिय गीतहरू गाइसकेकी छिन् । धेरै जसो गीतहरुले युट्युबमा लाखौँ भ्युज बटुलेका छन् र "मारै ट झलल" गीतले भने १६ लाख भ्युज काटिसकेकोछ । उनले नेपाली र गुरुङ चलचित्रका गीतहरूमा समेत आवाज दिइसकेकी छिन् ।
द भ्वाइस अफ नेपाल मा सिने गुरुङको “मन किन रुन्छ यो मन” गीतमार्फत ब्लाइन्ड अडिसनमा छनोट भएकी थिइन् । पवित्रले ब्याटल राउन्ड र नकआउट चरणसम्म प्रभावशाली प्रस्तुति दिँदै दर्शक र निर्णायकहरूको मन जितेकी थिइन् ।
गुरुङ, नेपाली र हिन्दी गीतहरू सजिलै गाउन सक्ने क्षमता भएकी उनी शास्त्रीय गीतमा विशेष रुचि राख्छिन् ।
गुरुङले २२ वर्षको कलिलो उमेरमै तमु धीं यूकेको निमन्त्रणमा पहिलो अन्तर्राष्ट्रिय संगीतिक यात्रा बेलायतबाट सुरु गरेकी थिइन् ।
उनी तमु धीं यूकेप्रति सधैँ कृतज्ञता प्रकट गर्छिन् । जसले अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक अवसर प्रदान गरेको थियो । त्यसपछि लगत्तै दक्षिण कोरिया, हङकङ र बहराइनमा पनि उनले सांगीतिक प्रस्तुति दिइसकेकी छिन् ।
ग्रेटर रशमोर नेपाली कम्युनिटीको निमन्त्रणामा दोस्रो पटक बेलायत आएकी उनले विभिन्न स्थानहरूमा करिब चार दर्जनभन्दा बढी कार्यक्रममा प्रभावशाली प्रस्तुति दिइसकेकी छिन् ।
“नुमा”, “नैना”, “रीपा”, “उज्यालो”, “क्योँई साँ”, “टुहुरी” र “मुख्या” जस्ता चलचित्रहरूमा पार्श्वगायिकाको रूपमा स्वर दिएर उनीले दर्शक तथा श्रोताको मन जित्न सफल भएकी छिन्।

क्योँई साँ (तिम्रो याद) चलचित्रमार्फत डेब्यु गर्दै उनले नयाँ धारको यात्रामा पनि पाइला चालेकी छिन्।
पवित्र गुरुङ आफ्नो सफल संगीतिक यात्राको श्रेय गुरु चन्दनकुमार श्रेष्ठ, दिदी गरीमा गुरुङ, परिवारका सदस्य र सबै शुभचिन्तकलाई दिँदै सधैँ आभार व्यक्त गर्दिछन्।
उनको परिवारमा बाबुआमा, दुई दिदी, एक दाजु र दुई भाइ छन्।