अल्डरसट । रशमोर बरो काउन्सिलको आयोजनामा १५ अगस्टको साँझ अल्डरसटस्थित म्यानर पार्कमा ‘भिक्टोरी ओभर जापान डे’ (भी जे डे) ८०औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ ।
सन् १९४५ अगस्ट १५ मा जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको दिनलाई शान्ति र विजयको प्रतीकका रूपमा स्मरण गर्दै प्रत्येक वर्ष विशेष कार्यक्रम हुँदै आएको छ । यसको ८०औँ वर्ष पुगेको अवसरमा स्थानीय बासिन्दा, संघ संस्था तथा भेट्रेन समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
परेडमा ४५७ फार्नबोरो स्क्वार्डन कर्प्स अफ ड्रम्स, रोयल ब्रिटिस लिजन (अल्डरसट र फार्नबोरो), रोयल नेभल एसोसिएसन, प्याराचूट रेजिमेन्ट एसोसिएसन, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी, ग्रेटर रशमोर नेपाली कम्युनिटी, विभिन्न सी क्याडेट्स, एयर क्याडेट्स, स्काउट, गाइडिङ र सेन्ट जोन एम्बुलेन्स क्याडेट्स सक्रिय रूपमा सहभागी थिए ।
गोर्खा समुदायतर्फबाट बिजीडब्लूएस (BGWS) र जीआरएनसी (GRNC) को विशेष उपस्थितिलाई दर्शकहरूले तालीका साथ स्वागत गरेका थिए ।

कार्यक्रम गायिका लोरी ब्राउनले प्रस्तुत गरेको ‘अ सोल्युट टु भेरा लिन’ गीतबाट प्रारम्भ भएको थियो । त्यसपछि रशमोरका मेयर काउन्सिलर क्यालम स्टुअर्ट, डिपुटी लिडर सोफी पोर्टर र स्थानीय सांसद अलेक्स बेकरले संक्षिप्त मन्तव्य राख्दै भी जे डे को ऐतिहासिक महत्व स्मरण गरे ।
सांसद बेकरले दोस्रो विश्वयुद्धमा १ लाख २० हजारभन्दा बढी गोर्खाहरूले बहादुरीपूर्वक युद्ध लडेको तथ्य उल्लेख गर्दै गोर्खाहरूको योगदानको उच्च प्रशंसा गरिन् ।
स्थानीय इतिहासकार पोल भिकर्सले ‘भी जे डे र रशमोर’ शीर्षकमा ऐतिहासिक प्रस्तुति दिएका थिए । त्यसपछि उपस्थित सबैजना, वर्दीधारी, क्याडेट र स्टान्डर बोकेर आएका टोलीसँगै शान्तिको प्रतीक ‘बिकन’ प्रज्वलन गरिएको थियो ।
हाना होपकिन्सले कविता वाचन गरे भने, ह्याम्पसायरका लोर्ड लेफ्टिनेन्टको तर्फबाट आएको विशेष सन्देश लेफ्टिनेन्ट जनरल सर मार्क म्यान्स KCB CBE DL ले पढेर सुनाए । त्यसपछि सबैले वेलायतको राष्ट्रिय गान ‘गड सेव अवर ग्रेसियस किङ’ सामूहिक रूपमा गाएका थिए ।

बिजीडब्लूएसका अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान JP ले भी जे डे–८० को श्रद्धाञ्जली वाचन गरेका थिए । कार्यक्रमको समापन गायिका लोरी ब्राउनसँगै उपस्थित सबैले ‘वि विल मिट अगेन’ गीत गाएर गरिएको थियो । कार्यक्रम सञ्चालन रिचार्ड वाएथले गरेका थिए ।
परेडमा डी डेका भेट्रन चार्ल्स जोन क्याभनर, गोर्खा भेट्रेन मनिराम थापा र खेमसिंह गुरुङ समेतको उपस्थिति उल्लेखनीय रह्यो । उनीहरूले सिंगापुर, मलाया, बोर्नियो, ब्रुनाई र हङकङमा सेवासमेत पुर्याइसकेका थिए ।
यस अवसरमा बिजीडब्लूएसको ‘स्टान्डर’ पहिलो पटक सार्वजनिक रूपमा परेडमा प्रस्तुत गरिएको थियो । स्टान्डर क्यारियर ओम काउचा थापालाई क्याप्टेन (रि.) राजेन्द्रमान गुरुङ र बिल बलालले साथ दिएका थिए ।
