नेपाल विद्युत् प्राधिकरणबाट सेवा पूरा हुन चार महिना मात्र बाकी रहँदा बर्खास्त भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारका अन्तिम दुई हप्ता १५ लाख हाराहारीमा नेपाली श्रमिकहरू कार्यरत खाडी मुलुकहरूको भ्रमण गरी नेपाली दाजुभाइहरूसँग भेटघाट गरेका थिए । बहराइनबाट औपचारिक रुपमा घोषणा गरेको 'उज्यालो नेपाल' अभियान लिएर देश विदेश घुमी नेपाली दाजुभाइ दिदीबहिनीसँग भेटघाट र अन्तरक्रिया गर्ने क्रममा उनी जुलाई २५ मा अमेरिकाको न्यु योर्क आएका थिए । जुलाई २५ देखि अगस्ट ११ सम्म करिब तीन सप्ताह अमेरिका बस्दा उनले न्यु योर्क, कनेक्टिकट, म्यासाचुसेत्ट्स, टेक्सस, मेरिल्यान्ड, मिसिगनलगायत आधा दर्जनभन्दा बढी राज्यहरूमा गई करिब एक हजार नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरे । उनको सम्मानमा आयोजित भेटघाट र अन्तरक्रियाहरूमा अमेरिकामा करिब १० हजार नेपालीहरूलाई सम्बोधन गरेका थिए ।
घिसिङको तीन हप्ते अमेरिका भ्रमण सारमा यस प्रकार रह्यो :
जुलाई २५-२७: न्यु योर्क
न्यु योर्कमा तीन दिन घिसिङले व्यक्तिगत र सामूहिक भेटघाट गरे । जुलाई २७ मा अमेरिकाको न्यु योर्क सहरमा एक सार्वजनिक कार्यक्रममा हामी नेपाली ग्लोबल भन्ने संस्थाले उनलाई ग्लोबल हिरो अवार्डबाट सम्मानित गरेको थियो । जुलाई २८ मा उनी कनेक्टिकट हुँदै म्यासाचुसेत्ट्स पुगेका थिए ।
जुलाई २९-३०: बोस्टन
२९ तारिक बोस्टनस्थित हार्वर्ड विश्व विद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का अन्वेषक, वैज्ञानिक, नीति अध्येता र विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरे । अन्तरक्रियामा घिसिङले देशमा व्याप्त निराशा चिर्न, सुशासन कायम गर्न शिक्षा, स्वास्थ्य सेवा सुधार गर्न, ऊर्जा उत्पादन अनि उद्यमशीलता प्रवर्धन गर्न देश विदेशमा रहेका विज्ञ, सक्षम युवाहरूले हातेमालो गरी सबैको साझा र स्वतन्त्र उज्यालो नेपाल अभियानमा जोडिएर सल्लाह सुझाव दिन अनुरोध गरे । ३० जुलाई २९-३० तारिक बुधबार साँझ कुलमान घिसिङले बोस्टन नेपाली समुदायको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रियामा २०० भन्दा बढी नेपालीहरुलाई सम्बोधन गरी उनका प्रश्नहरूको उत्तर दिएका थिए ।


जुलाई २९-अगस्ट २: टेक्सास
अगस्टको सुरुका तीन दिन नेपाली समुदायको बाक्लो उपस्थिति रहेको टेक्सास राज्यका ड्यालस, अर्भिंगमा र अस्टिनजस्ता सहरहरूमा युनाइटेड नेपलिज असोसिएसन, ग्रेटर अस्टिन चेम्बर अफ कमर्स जस्ता संस्थाहरूद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा घिसिङले वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा अब विश्वासिलो नेतृत्वको आवश्यकता रहेको धारणा राखे। ‘उज्यालो नेपाल’ अभियानको उद्देश्य स्पष्ट पार्दै उनले यो स्वतन्त्र अभियानमा अमेरिकावासी नेपालीहरूको साथ सहयोग माग्दै “यो स्वतन्त्र अभियान हो, जसले मुलुकमा राम्रो नेतृत्व जन्माउनेछ। यसमा सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु,” भने। भारत र चीनले प्रवासी नागरिकको सीप र विज्ञताबाट लाभ उठाएको उदाहरण दिँदै बिजुलीको उज्यालो मात्रले देश प्रगति नहुने हुनाले प्रत्येक क्षेत्रमा प्रकाश फैलाउने अभियान रहेको उल्लेख गरे।

यी सामूहिक भेटघाटहरू पछि अगस्ट ३-५ मा कुलमान मिसिगन राज्य हुँदै क्यानडाको सिमानामा अवस्थित नायागारा झरना अवलोकन गर्न जाँदा २५०० मेगावाट बिजुली उत्पादन गर्ने रोबर्ट मोसेस हाइड्रो इलेक्ट्रिक पावर स्टेसन नामक जलविद्युत केन्द्रको पनि अवलोकन गरे। त्यस पछि अगस्ट ५-७: वासिङ्टन डिसी, भर्जिनियामा घिसिङले अमेरिकाको भर्जिनिया राज्यमा नेपाली समुदायलाई विशेष सम्बोधन गरेर फेरी न्यु योर्क फर्किए।
अगस्ट ८-१०: न्यु योर्कमा इन्जिनियरहरूको सभालाई सम्बोधन
अगस्ट ९ मा कुलमानले द अमेरिकन सोसाइटी अफ नेप्लीज इन्जिनियरर्स संस्थाको १८औँ वार्षिक राष्ट्रिय सम्मेलनमा इन्जिनियरहरूको सभालाई सम्बोधन गरे। घिसिङले आफ्नो मन्तव्यमा नेपालको दिगो ऊर्जाको भविष्यबारे आफ्नो दृष्टिकोण राख्दै नयाँ आविष्कार, स्मार्ट प्रविधिको प्रयोग र देश-विदेशको सहकार्यको खाँचोमा जोड दिएका थिए ।
कुलमानका यी स्व स्फूर्त भेटघाट कार्यक्रम सफल पार्न पृष्ठ भूमिमा विभिन्न नेपाली समुदायका सदस्यहरू सक्रिय थिए र कुनै विशेष समूह देखिएन।
यसरी आफ्नो तीन हप्ते अमेरिका भ्रमण सकी कुलमान अगस्ट ११ मा युरोप भ्रमणमा लन्डन उडेका थिए। हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमुधीं यूकेलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले स्वागत गरेका थिए । त्यसपछि अगस्ट ११ देखी २५ सम्म विभिन्न युरोपेली देशहरू भ्रमण गर्ने कार्य तालिका रहेको छ। युरोपमा अगस्ट ११ देखी १५ लंडल, १६-१७ स्कटल्यान्ड, १८-२३ बेल्जियम, पोर्चुगललगायत देशमा नेपाली समुदायसँग भेटघाट गरी अगस्ट २५ मा लन्डन बाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
अमेरिकामा कुलमानले सामना गर्ने बारम्बारताका प्रश्नहरू र उनका सम्बोधनका सार
अमेरिकामा कुलमानसँग भेटघाट अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूले उज्यालो नेपाल अभियानको भावी योजना, कुलमानको राजनीतिमा आउने सम्भावना र अन्य दलहरू सँग सहकार्य जस्ता प्रश्नहरू गरी रहन्छन् । उनी आफू कुनै परम्परागत दलमा नरहेको भन्दै नयाँ दलहरू र स्वतन्त्र अभियानहरू सँग सहकार्य गर्न उत्सुक रहेको बताउँछन्। केही समाजमा प्रतिष्ठित व्यक्तिहरू सँग संवादमा रहेको भने पनि सिधै राजनैतिक दल खोल्ने कुरा चाहिँ गर्दैनन् ।
प्रवासबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने जिज्ञासामा उनी स्वच्छ छविका सक्षम युवाहरूलाई देश विदेशबाट आफ्नो अभियानमा सहयोग गर्न आव्हान गर्छन् । घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणमा हुँदा ऊर्जाको माग र वितरण बिच सन्तुलन मिलाउन व्यवस्थापन सुधार र चुहावट नियन्त्रण गरेर २०७३ साल कार्तिक १४ गते लक्ष्मीपूजाको दिनबाट लोडसेडिङ मुक्त नेपाल बनाउन गरेको सङ्घर्ष र मिहिनेत बारेमा सुनाउँदै जलविद्युत र ऊर्जामा लगानी गर्दा प्रतिफलको सुनिश्चितता गर्न सके मात्र नेपाल ऊर्जा क्षेत्रमा आत्म निर्भर बन्न सक्ने बताउँछन् । उनी उज्यालो अभियान विद्युत्को मात्रै उज्यालो नभई देशमा व्याप्त निराशाको अँध्यारो चिर्ने र आशाको उज्यालो छर्ने अभियानको रूपमा अघि बढ्ने भन्छन् । कुलमान प्राय प्रवासी नेपालीले देशमा लगानी गर्ने वातावरण मिलाउन पहल गर्ने भन्दै मतदान गर पाउनु पर्ने संवैधानिक अधिकारको सरकारले कार्यान्वयन गर्नु पर्ने पनि धारणा राख्छन् ।
आफ्ना सम्बोधनहरूमा कुलमान घिसिङ यी बुँदामा जोड दिएर बोल्छन्— अब देशमा परिणाम दिने नेतृत्व चाहिन्छ र मूल राजनैतिक नेतृत्व फेरिनुपर्छ,प्रवासी नेपालीहरूको राष्ट्र निर्माणमा सम्मान र सहभागिता अत्यावश्यक छ, अब देशमा आशा जगाउने र सक्षम नेतृत्वको निर्माणको प्रयासमा उज्यालो अभियानले काम गर्ने छ।
- विष्णुप्रसाद जोशी