लन्डन । चार भन्ज्याङ तमु समाज यूकेको वार्षिक भेटघाट गत २ अगस्टमा सम्पन्न भयो । The Grange Community Junior School Farnbrough मा भएको कार्यक्रम भव्य र सभ्य बनेको थियो ।
प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा अध्यक्ष कमलादेवी गुरुङ रहेका थिए । विशेष अतिथिमा तमु धीं यूकेका महासचिव एवं चार भन्ज्याङ गाउँमा आँखा शिविर सञ्चालन गरेर सहयोग पुर्याउने डा. विशाल गुरुङ थिए ।

कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष अमर गुरुङले गरे । उद्घाटन अध्यक्ष दुर्गा बहादुर गुरुङ र प्रमुख अतिथि जुमकाजीले पानसमा बत्ती बालेर गरेका थिए ।
यस वर्ष ज्येष्ठ नागरिकहरूको अत्यधिक उपस्थिति थियो । संस्थाले ८० वर्ष उमेर पूरा भएका ९ जनालाई मायाको चिनो स्वरूप लट्ठी प्रदान गरेको थियो । बालबालिकालाई Bouncy Castle , तन्नेरी युवा र वयस्कलाई भलिबल, राफल ड्र र नेपालबाट पाल्नु भएका कलाकारले मनोरञ्जन दिलाएका थिए ।

चेलिबेटीको आगमनले कार्यक्रममा अझ रौनकता बढेको थियो । चेलिबेटीका तर्फबाट अध्यक्ष दुर्गा बहादुर गुरुङ तथा श्रीमती तारा गुरुङ र निवर्तमान अध्यक्ष बेन कुमार गुरुङ तथा श्रीमती तारा गुरुङलाई खादा र फूलका गुच्छाले कार्यकाल सफलताको कामना गरेका थिए ।
चार भन्ज्याङ समन्वय समितिका अध्यक्ष क्याप्टेन रि. देउ बहादुर गुरुङ र प्रथम महिला भूपू सीबीटीएस यूकेका आमा प्रमुख शान्ति गुरुङले निवर्तमान चार भन्ज्याङ आईसीसीका अध्यक्ष ह. ले. रि. चन्द्र बहादुर गुरुङ र श्रीमती विमला गुरुङ सीबीटीएस यूके पूर्वआमा प्रमुख तथा निवर्तमान अध्यक्ष बेन कुमार गुरुङ र श्रीमती तारा गुरुङलाई कार्यकाल राम्रोसँग सम्पन्न गरेकामा बधाई साथ माया को चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नयाँ सदस्य, नयाँ दम्पती, आर्मी करियरमा पदोन्नती हुनेलाई अध्यक्ष दुर्गा बहादुर गुरुङले खादाले स्वागत गरेका थिए । कलाकार, डीजे र निवर्तमान कार्य समितिका सदस्यलाई बिदाइ तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
हलको चाँजोपाँजो गरिदिने ले. रि. कुशाङ कुमार गुरुङ, टेन्ट, चिया उपलब्ध गरिदिने तमु धींका भूपू अध्यक्ष तथा समाजका सल्लाहकार ग्याम गुरुङ र अल्डरसट निवासी सदस्यहरू, डिरिन्कमा निवर्तमान कोषाध्यक्ष कमल गुरुङ र छोरीहरू र मुख्य रिसेप्सनमा कोषाध्यक्ष विमला गुरुङ र निवर्तमान कोषाध्यक्ष कमल गुरुङले गरेका थिए ।

आमा प्रमुख अमला गुरुङ र उपप्रमुख कोमल गुरुङ डेकोरेसन, राफल ड्र तथा आमा समूहको कार्यमा तल्लीन थिए । उपसचिव विजय गुरुङले बन्सि केसलको जोहो गरेका थिए । खानपान सुपथ मूल्यमा गोर्खा दरबार फेल्थाम डाइरेक्टर धन बहादुर गुरुङबाट खाना तथा मनोरञ्जन व्यवस्थापक प्रकाश गुरुङले गरेका थिए ।
अर्को वर्ष भेटेर पुन: रमाइलो गर्ने वाचाका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
-दुर्गा गुरुङ