ब्रेकन, बेलायत । ल्हेँगे तमु समाज यूकेको वार्षिक ग्रीष्मकालीन कार्यक्रमअन्तर्गत दोस्रो ल्हेँगे समर क्याम्प २०२५ सुन्दर प्राकृतिकस्थल दक्षिण वेल्समा सफलतापूर्वक सम्पन्न भएको छ ।
ब्रेकनस्थित लाङ्गोर्स मल्टी एक्टिभिटि सेन्टर गीलफास फार्ममा उक्त आउटिङ अगस्ट ८ तारिख शुक्रबारदेखि ११ तारिख सोमबारसम्म भएको हो । करिब ४० जना ल्हेँगे परिवारका सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त क्याम्पको पहिलो दिन सहभागीहरूले लाङ्गोर्स लेक हुँदै ताल्लोवोन्ट फरेस्ट हुँदै सुन्दर झरनाको पदयात्रा गर्दै नेपाली समुदायबाट अघि बढाइएको परियोजना नेपाली भिलेज यूकेको अवलोकन गरिएको थियो ।

दोस्रो दिन बिहानको नास्तापछि सहभागीहरूले ल्हेँगे डाँडा हाइक गरेका थिए । दिनभरको साहसिक यात्रापछि बेलुका फर्केर विशेष नेपाली परिकारहरूको स्वाद लिने कार्यक्रम राखिएको थियो ।

क्याम्प सञ्चालनका क्रममा विभिन्न सेक्सनको इन्चार्ज रहेका सदस्यहरू फूड लोक ल्हेँगे, ड्रिंक्स दिल ल्हेँगे, मनोरञ्जन विकास ल्हेँगे, अर्थ लोकेन्द्र ल्हेँगे र संगीता त्होर्जे, मिडिया लोकेन्द्र ल्हेँगे, यातायात तेज ल्हेँगे तथा समस्या समाधान विजय ल्हेँगे लगायतले समीक्षा भनाइ राख्ने गरिएको थियो ।
कार्यक्रमको अनौपचारिक संचालन समाजका महासचिव मनोज ल्हेँगेले सञ्चालन गरेका थिए । ल्हेँगे बुहारीहरूका तर्फबाट मञ्जु क्हेप्री र बिष्णु कुप्छेले सहभागी सबैलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।
समाजका सल्लाहकारहरु बेम ल्हेँगे र ओम ल्हेँगे MBEले समाजको औचित्यमाथि प्रकाश पार्दै आउटिङ क्याम्पको महत्वबारे पनि वर्णन गरे । उनीहरुले कार्यक्रम सफल भएको समेत बताए ।
कार्यक्रममा ल्हेँगे समाज यूकेका प्रमुख सल्लाहकार तथा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुसीमान ल्हेँगे MVOले क्याम्प तय गर्नमा मुख्य भूमिका खेलेका थिए । उनले यस्ता कार्यक्रम गर्दा ध्यान दिनु पर्ने विषय र निरन्तरताबारे धारणा राखेका थिए ।
अन्त्यमा समाजका अध्यक्ष अशोक ल्हेँगेले सम्पूर्ण सहभागी, आयोजक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै साँझको नाचगानसहित दोस्रो दिनको कार्यक्रम समापन भएको थियो ।

समापनको दिन सबैले सामूहिक रूपमा नास्ता ग्रहण गरेपछि समाजका प्रमुख सल्लाहकार मेजर खुसीमान ल्हेँगे र मञ्जु क्ल्हेप्रीको निवासमा व्यवस्था गरिएको समाजका महासचिव मनोज ल्हेँगेले जानकारी दिए ।
ल्हेँगे समाजको समर क्याम्पिङ २०२५ अत्यन्त पारिवारिक वातावरण र आत्मीयताका साथ सम्पन्न भएको समाजका अध्यक्ष अशोक ल्हेँगेले बताए । आगामी वर्ष २०२६ को अगस्ट तेस्रो हप्ता, तेस्रो ल्हेँगे समर क्याम्प आयोजना गरिने आयोजकले जनाएका छन् ।