लन्डन । बेलायतको नटिंघममा मिडल्यान्ड मेला सम्पन्न भएको छ ।
नेपाली समाज नटिंघम इस्टमिडल्यान्डस् यूकेको आयोजनामा यही ११ अगस्ट २०२५ मा मेलवोर्न पार्क नटिंघममा आयोजित मेला उद्घाटन नटिंघमसायरका सांसद तथा प्रमुख अतिथि एलेक्स नोरिस, बेलायतकी पहिलो एसियाली महिला प्रहरी अधिकृत गुरमित कौर,संस्थापक अध्यक्ष रण केसी र अध्यक्ष रामप्रसाद पन्थीले पानसमा दीप प्रज्वलन गरेर गरेका हुन् ।
कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे जानकारी पूर्वअध्यक्ष विष्णु चालिसेले दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव रेशम खड्काले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष लोकनाथ अधिकारीले राखेका थिए ।
कार्यक्रममा गोविन्द खरेल, महेश अधिकारी, सुरेश केसी, दिवाकर पाण्डे र दयानिधि, सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार अर्जुन कुँवर, शिला आले, बालचन्द्र बराल, कृष्ण रेउले र सिता परियार लगायतले लोकप्रिय गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । स्थानीय कलाकार सूदिप उप्रेतीलगायतले पनि नृत्य, गायन प्रस्तुत गरेका थिए ।
मेलामा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पहिलो शान्ति समाज बेलायत र दोस्रो गल्कोट समाज यूके बने ।
राफल ड्रको पहिलो पुरस्कार अनुग्रह ज्वेलर्सको तर्फबाट प्रदान गरिएको ३ सय पाउन्डबराबरको आकर्षक घडी रहेको थियो भने दोस्रो पूरस्कार काठमाडौं गोर्खा रिप्ली र केलेक्रसले सूनको गहना स्पोन्सर गरेको थियो ।
अध्यक्ष रामप्रसाद पन्थीले मेला समापन मन्तव्य राख्दै मेलालाई सफल बनाउन खटिएका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु,नटिंघम महिला समुहकी अध्यक्ष निरु चालिसे, इङल्यान्ड राज्यसमितिका निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, ट्रष्टीहरु,पदाधिकारी, सदस्य, स्वयंसेवक, दिप ज्योति नौमती बाजा र सम्पूर्ण प्रायोजक, कलाकार र दर्शक–श्रोताप्रति आभार प्रकट गरेका थिए ।
नेपाली समाज नटिंघम इस्टमिडल्यान्ड सन् २००९ मा स्थापना भएको हो । नेपाली समाज नटिंघमले नेपाली कला संस्कृतिको जगेर्ना र संरक्षण गर्दै लगातार रूपमा क्रियाशील छ ।