मिचेट । बेलायत भ्रमणमा आएका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई तमु धीं यूकेले आफ्नै भवनमा भव्य रूपमा स्वागत गरेको छ । घिसिङलाई मिचेटस्थित द तमु नेप्लिज कम्युनिटी सेन्टरमा स्वागत गरिएको हो ।
कार्यक्रममा करिब ७० जना उपस्थित थिए । घिसिङलाई सुरुमा ब्याक पाइपको धुनसँगै हलमा प्रवेश गराइएको थियो । त्यसपछि कार्यक्रम सञ्चालन संस्थाका महासचिव डा. विशाल गुरुङले गरेका थिए ।

प्रमुख अतिथि घिसिङ र संस्थाका अध्यक्ष जुमकाजी गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रम आरम्भ गरेका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राखेका थिए । सो अवसरमा स्वागतका लागि केक पनि काटिएको थियो ।
कार्यक्रममा कार्य समितिका सदस्य, तमु धीं आमा समूहका अध्यक्ष कमला गुरुङ र अन्य पदाधिकारी, तमु धीं यूके ब्रान्चका अध्यक्ष, संस्थापक अध्यक्ष, भुपू अध्यक्ष, ट्रस्टी, सल्लाहकार तथा तमु धींसँग आबद्ध अन्य समाजका पदाधिकारी र सदस्य उपस्थित थिए ।

कलाकार पवित्र गुरुङ र अस्मिता पुरीसहित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार पनि उपस्थित थिए । कुलमान तमु धीं यूकेको निमन्त्रणामा १६औँ नेपाली मेलाका लागि बेलायत आएका हुन् ।
कुलमानलाई बेलायत ल्याउन विशेष पहल गरेका व्यवसायीद्वय मोहन गुरुङ र अलेन पाण्डेलाई अध्यक्ष गुरुङले विशेष धन्यवाद दिए ।
कुलमानले स्वागतका लागि धन्यवाद दिँदै १९ वर्ष पहिले बेलायत आएको सम्झना गर्दै झन्डै ४० मिनेटसम्म बोलेका थिए । सो क्रममा उनले विद्युत् प्राधिकरणमा रहँदाको अनुभव र उज्यालो नेपाल अभियानबारे बारे चर्चा गरेका थिए ।

नेपाललाई संसारमा चिनाउने वीर गोर्खा समुदायको घरमा आउन पाउँदा गर्व महसुस भएको घिसिङले बताए । हाल नेपालमा जीडीपीको २७ प्रतिशत रेमिट्यान्सले धानिरहेको उल्लेख गर्दै उनले देश निर्माणका लागि विदेश बस्ने नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
प्रश्नोत्तर कार्यक्रम पनि रहेको थियो । सहभागीले घिसिङलाई विभिन्न प्रश्नहरू राखेका थिए । अन्त्यमा तमु धीं यूकेका अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरे ।
सोमबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका घिसिङलाई अध्यक्ष गुरुङ नेतृत्वको टोलीले विमानस्थलमै पुगेर पनि स्वागत गरेको थियो ।

घिसिङ अगस्ट २४ मा आयोजना हुन लागेको १६औँ नेपाली मेलामा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । बेलायतमा रहँदा उनले अरू विभिन्न नेपाली संघसंस्था र समुदायसँगसमेत भेटघाट अन्तरक्रिया गर्ने तालिका छ ।
